१८ मंसिर २०८१, मङ्गलवार

माटाको पाला बनाउन व्यस्त कुमाल समुदाय

१३ कार्तिक २०८१, मङ्गलवार
Image

झापा, १३ कात्तिक ।  बाह्रदशी गाउँपालिका–६ कुमालवस्तीका बासिन्दा तिहार नजिकिदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन् । उनीहरुका लागि बर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय पनि यही हो । 

कुमालहरुसँग पुख्र्यौली रुपमा माटाको भाडाकुडा बनाउने शीप हुन्छ । तिहार अघि विहानदेखि साँझसम्म परिवारका सबै सदस्य यही काममा लाग्छन् । खासगरी वृद्धवृद्धाहरु पाला बनाउने माटो मुछ्ने र चक्रमा आकार दिने काम गर्छन् ।

स्थानीय चम्पादेवी पण्डितले झापामा उत्पादित पाला, धुपौरौ र गाग्री कोशी प्रदेशका १४ वटै जिल्लामा पुर्याइने बताउनुभयो । “दिनरात मिहेनत गरिरहेका छौं,” उहाँले भन्नुभयो, “तराई र पहाडका सबैजसो बजारमा पुर्याउँछौं ।”

बाह्रदशीमा कुमालका ६० परिवारले यसपाली रु. एक करोडभन्दा बढी मूल्यको माटाका सामग्री बिक्री गर्ने लक्ष्य लिएका छन् । खेतीपातीले मात्र जीविका नचल्ने भएकाले छोराछोरीको पढाई र अन्य खर्च धान्न माटाका भाडावर्तन बनाउने पुख्र्यौली पेशाले सहज भएको उहाँले बताउनुभयो ।

उहाँले पछिल्लो समय आयातित विद्युतीय सामाग्रीका कारण माटाका सामग्रीको बजारमा असर परेको बताउनुभयो । यहाँ हरेक परिवारले दुई लाखका दरले पाला लगायतका माटाका सामान बनाउने गरेका छन् । कुमालहरुले उत्पादन गरेका सामग्रीहरु व्यवसायीहरुले घरैबाट खरिद गरेर लैजाने गरेका छन् । 

अर्का कुमाले अमितकुमार पण्डितले भदौदेखि नै तिहारलाई लक्षित गरेर पाला, कलश र धुपौराहरु बनाउन थालेको बताउनुभयो । उहाँले झापाका अन्य पालिकामा कुमालहरुको पातलो बसोबास रहेको र बाह्रदशीमा सबैभन्दा बढी ६० परिवार रहेको जानकारी दिनुभयो ।

कुमाल गाउँका हरेक आँगनमा यतिबेला माटोबाट बनाइएका पाला घाममा सुकाइएको दृश्य मनमोहक देखिन्छ । दिपावलीदेखि छठ पर्वसम्म उनीहरुले बनाएको पाला विक्री हुने गर्दछ । कुमालहरु केही वर्षअघिसम्म लाठीले घुमाउने चक्रबाट माटाका भाडावर्तन बनाउने गर्दथे । तर हाल मोटरबाट चल्ने विद्युतीय चक्रबाट सामग्रीहरु बनाउने गरिएको छ । 

पाला बनाउने माटो कुमालहरुले किनेर ल्याउनु पर्छ । माटो महँगिएका कारण उत्पादित सामग्रीबाट धेरै मुनाफा उहाँको गुनासो छ । एक ट्रिपर माटो खरिद गर्न रु. १० देखि १२ हजार तिर्नु पर्ने पण्डितको भनाई छ ।