१९ जेठ २०८२, आइतवार

रेडक्रसद्वारा कनकाईको बाढी जोखिम क्षेत्रमा राहत सामग्रीको भण्डारण

१० जेठ २०८२, शुक्रवार
Image

झापा,९ जेठ । नेपाल रेडक्रस सोसाइटी झापाले कनकाई नदीमा आउने सम्भावित बाढीको उच्च जोखिम भएको दुई स्थानमा ३०० परिवारलाई पुग्ने गैरखाद्य राहत सामग्री पुर्याएको छ ।

पूर्वानुमानमा आधारित विपद् व्यवस्थापनको पूर्वतयारी स्वरुप बिगतमा जिल्लाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र मानिएको झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकामा उक्त राहत सामग्री पुर्याइएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।

जोखिम क्षेत्रमा भण्डारणका लागि पुर्याइएका सामग्रीहरुमा त्रिपाल, भाँडाका सेट, कम्बल, बाल्टी, साडी, धोती लगायत छन् । झापाको सबैभन्दा ठूलो नदी कनकाई हो । कनकाईमा बाढी आउँदा झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका कतिपय उच्च जोखिम क्षेत्रमा वर्षेनी बाह्य सडक सम्पर्क टुट्ने गरेको छ । 

झापा गाउँपालिकाको मदरगाछ र शिवसताक्षी नगरपालिकाको पाँचगाछीमा विश्व खाद्य कार्यक्रमले रेडक्रसमार्फत राहत सामग्री भण्डारणका लागि दुई वटा कन्टेनर (गोदामघर) दिएको छ । त्यही गोदामघरमा राहतका सामानहरु लगेर सुरक्षित भण्डारण गरिएको ढकालले जानकारी दिनुभयो ।

“पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गमा पुल र कल्भर्टको निर्माण कार्य भइरहेको हुँदा बर्खामा आवतजावतमा समस्या हुनसक्छ,” नेरेसो झापाका अध्यक्ष ढकालले भन्नुभयो–“त्यही भएर अहिले बेलैमा जरुरी राहतका सामग्री जोखिम क्षेत्रमै लगेर कन्टेनरमा भण्डारण गरेका हौं ।”

रेडक्रसले दमक र गौरादहका लागि गौरादह, बाह्रदशी र कनकाईका लागि घैलाडुब्बा, मेचीनगर, कचनकवल र हल्दिवारीका लागि भद्रपुरमा गैखाद्य राहत सामग्रीको भण्डारण गर्ने उहाँले जानकारी दिनुभयो ।

वषेर्नी झापा जिल्लामा आठ हजार भन्दा बढी घरधुरी मनसुनी वर्षाबाट हुने बाढी र डुबानबाट प्रभावित हुँदै आएका छन् । कनकाई, बिरिङ, रतुवा, मेची, कमल, बनियानी, टाङटिङ लगायतका नदीमा आउने बाढीले बढी जनधनको क्षति पुर्याउने गरेको छ । झापामा बिगत एक दशकमा बाढीकै कारण ९० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

कनकाई नदीमा आउनसक्ने बाढीको जोखिम पूर्वानुमानका लागि इलामको मैनाचुली, दानाबारी लगायतका स्थानमा मापन केन्द्रहरु राखिएका छन् भने नदीमा पानीको वहाव बढ्ने वित्तिकै नदी किनारका प्रभावित बासिन्दालाई मोवाइलबाट म्यासेजमार्फत अग्रिम सूचना पठाउने व्यवस्था मिलाइएको छ । 

जिल्लाका गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, कमल, गौरादह, मेचीनगर र शिवसताक्षी बाढीको उच्च जोखिममा छन् । जोखिममा रहेका पालिकाहरुसँग सहकार्य र समन्वय गरेर विपद् व्यवस्थापनको पूर्वतयारीका विभिन्न कार्यहरु भइरहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका कार्यालय प्रमुख हरिशरण खड्काले बताउनुभयो ।