१० जेठ २०८३, आइतवार

पुस्तक समीक्षा

‘मेरो देश’लाई नियालेर हेर्दा

९ जेठ २०८३, शनिवार
Image

 औषधी विज्ञानलाई सम्पूर्ण कर्मक्षेत्र बनाएका विषयविज्ञ चिकित्सक, साहित्यकार तथा लेखक डा. लेखनाथ न्यौपानेको अर्को पुस्तक ‘मेरो देश’ बजारमा आएको खबरले अत्यन्तै उत्साहित बनाएको थियो । आवरण लुक्स र सर्सर्ती हेडलाइनहरु हेरर चित्त बुझाएपनि कार्यक्षेत्रको ब्यस्तता र समय सन्दर्भ नमिल्दा गहिरिएर पढ्ने उट्हुटीको तिर्सना भने मेटिएको थिएन । लेखकसँग सम्पर्क नभएको पनि होइन, पटक पटक फोन सम्बाद भएको थियो । र बजारमा आएको पुस्तकबारे चर्चा गरेर धन्यवाद ज्ञापन पनि गरिसकेको थिएँ । लेखकको निम्तोलाई स्वीकारेर भेट्न भने समय मिलेको थिएन । एकसाँझ उहाँको चिकित्सालयको बाटो भएर फर्किने क्रममा भेट भयो । पुस्तकबारे निक्कै भलाकुसारी भएपछि एउटा पुस्तक‘मेरो देश’ थमाउँदै समय मिलाएर पुस्तकबारे केही लेखिदिन अनुरोध गर्नुभयो । आफ्नो पेशाभित्रकै एउटा विधा भएकाले सहजै स्वीकारेर घर फर्किएँ ।

 पढ्दै जाँदा पुस्तक त निकै ठूलो र धेरै विषयहरु समेटिएको । समान्य संग्रह मात्रै नभएर समग्र देशको ‘ऐतिहासिक दस्तावेज’ नै रहेछ । विज्ञान र स्वास्थ्य क्षेत्रमा निरन्तर लेख रचना र पुस्तकहरु प्रकाशन गरेर आफ्नो ज्ञान वितरण गर्दै अघि बढिरहेका लेखक डा. न्यौपानेले पछिल्लो समय आफ्नो बाह्रवर्षको अथक मेहनतलाई ‘मेरो देश’ नामक पुस्तक प्रकाशनमा ल्याउन सफल हुनु सामान्य विषय होइन । सबैभन्दा पहिले त लेखकको यो सफलताप्रति हार्दिक आभार तथा थप लेखनीको शुभकामना ।

 यस पुस्तकमा नेपालको संक्षिप्त इतिहास, भूगोल, संस्कृति, चाडपर्व, धर्म, साहित्य, शिक्षा, मठमन्दिरजस्ता सम्पदाहरुको व्याख्या र वर्णन गर्दै पठनीय र संग्रहणीय बनाएर यो पुस्तक बजारमा ल्याउनु उनको व्यक्तिगत सफलता मात्रै नभएर  सिंगो मुलुकको खोज र राष्ट्रिय सम्पत्तिको रुपमा ग्रहण गर्न योग्य छ । यो पुस्तक पढिसकेका जो कोही पाठक र समीक्षकले सहज भन्न सक्छन् कि, ‘नेपालमा थुप्रै इतिहास छन् तर मुलकको समग्र इतिहासको संग्रहित पुस्तक भने यो पहिलो हुन सक्छ ।’ मलाई लाग्छ, डा. लेखनाथ न्यौपानेको ‘मेरो देश’ नामक पुस्तकलाइ मुलुकको इतिहास लेखनमा थपिएको अर्काे इटाको रुपमा लिन सकिन्छ ।

यो पुस्तकले मूर्तरुप प्राप्त गर्न विभिन्न महानुभावहरुको स्नेहाषिस प्राप्त गरेको लेखक आफैले लेखकीयमा बताएका छन् । उनले पुस्तकलाई पाठकसामु ल्याउन बहुत मेहनत गर्नुपरेको कुरा छिपाउन सकिन्न । बाल्यकालदेखि नै स्वदेश तथा विदेशी संस्कृति र परम्परालाई रुचाउने आफ्नो स्वभाव पुस्तकमा पोखिएको पनि लेखकले खुलाएका छन् । गाउँघरमा हुने नाचगान, चाडपर्व, मेलाबजारहरु भर्न रुचाउने र ग्रामीण क्षेत्रका मानिसहरुमा देखिएका समस्याहरुलाई समाधान गर्ने उत्सुकता लेखकमा सानैदेखि भएको लेखकीयमा बताइएको छ ।

नेपालको इतिहासमा पछिल्लो संरचना जो संघीय गणतन्त्रको प्रादेशिक संरचना रहेको ‘सात प्रदेश’ छ यी प्रदेशहरुभित्र कुन प्रदेशको अवस्था कस्तो र पर्यटकीय सम्भावनादेखि धार्मिक र सास्कृतिक स्थलहरुकोसमेत वर्णन गरिनुले यो पुस्तकलाई अझ जीवन्त बनाएको देखिन्छ । यस पुस्तकका माध्यमबाट लेखकले नेपालको वास्तविक अर्थ गहिरिएर खोतल्ने प्रयास गरेका छन् । सास्कृतिक विविधताले भरिपूर्ण, कलाकृतिले सुसज्जित प्राकृतिक मात्र नभई आध्यात्मिक दृष्टिले पनि पूर्ण नेपाललाई चिनाउने प्रयत्न गरेका छन् । खोज र अनुसन्धानका क्रममा विभिन्न स्रोतहरुबाट संकलन गरिएका तथ्य, तथ्यांकहरुलाई एकमुष्ट रुपमा समेट्न खोजेका छन् ।

नेपाल शब्दभित्र विभिन्न तहहरु छन् । कसैलाई नेपालभन्दा राजनीतिक नेपालको नक्सा आउला, कसैलाई नेपालको हरियाली सौन्दर्य वनपाखा खोलानाला आउला भने कसैले नेपालले प्रदान गर्ने समृद्ध सास्कृतिक अनुभवको झल्को आउला तर समग्रमा मेरो देश नामक कृतिको यो दोस्रो संस्करणले नेपाललाई चिनाउन यी सबै विषयवस्तुहरुको छुट्टै खोज, अनुसन्धान र बर्णन गरिनुले अझ ओझिलो जवाफदेही बनाएको छ । पुस्तकमा धेरै नवीनतम तथ्यहरु उद्घाटित भएका छन् । यो पुस्तकको मूख्य सार नै मानिस जन्मजात सबै कुरामा पारङ्गत हुँदैन, मृत्युपश्चात पनि केही लाँदैन तर रुँदै जन्मिएर रुँवाउँदै जाने जीवनलाई सायद सफल जीवन मानिन्छ । जन्म र मृत्युबीचका समयमा मानिसले जे गर्छ आफु, आफ्नो समाज र आफ्नै राष्ट्रका लागि गर्छ । हरेक मानिसले सानो– ठूलो कम वा धेरै जे जति गरेपनि राष्ट्रकै लागि गरेको हुन्छ । स्वदेश र स्वपहिचानका लागि गरेका हरेक कामभित्र सकारत्मक मूल्य अन्तरनिहित हुन्छ । व्यक्तिको भोगाई र गराईले कुनै न कुनै सन्देश प्रवाह गरेकै हुन्छ । केही सन्देश योगदान र ज्ञान प्रवाह नै आगामी पिढीको मार्गदर्शक बन्दछ । भन्ने सन्देश यो पुस्तकको अर्को विशेषता हो ।

पेशाले होमियोप्याथिक चिकित्सक रहेका लेखक डा. न्यौपानेले यस पुस्तकका माध्यमबाट नेपाललाई माथि उठाउन भरपूर प्रयत्न गरेका छन्, तर यो अन्तिम खोज र पूर्णता भने होइन । विशेषत धेरै तथ्यांक र विवरणहरु संकलनमा गुगलको सहयोग लिएको पाइन्छ । लेखक आफै सम्बन्धित भूगोलको अवलोकन गर्न वा खोज अनुसन्धान गर्न गएर तयार पारिएको विवरण भन्दा गुगल वा अन्य लेखक र इतिहासका सन्दर्भ सामग्री नै बढीजसो प्रयोजनमा ल्याइनुलाई यस पुस्तकको सीमा र कमजोरीको रुपमा लिन सकिन्छ ।

केही गौण रहेका सीमा र कमजोरीकाविच पनि यस पुस्तकमा पृथक विचार, खोज र भिन्न शैलीको कलात्मक प्रयोग नै लेखकको वास्तविक पहिचान बनेको देखिन्छ । यसले नयाँ र फरक सिर्जनात्मक सन्देश दिन खोजिएको छ । यस पुस्तकमा दुईखण्डलाई समावेश गरिएको छ । पहिलो खण्डमा नेपालको परिचय, भूगोल, राज्यसञ्चालन, नेपालमा पाइने विभिन्न प्रजातिहरु, मुद्राको इतिहास, बिजुलीको इतिहासदेखि तारे होटलको सुरुवात र ढुङ्गेधाराको इतिहाससमेतलाई समावेश गरिएको छ । यसमा नेपालका केही प्रसिद्ध स्थानहरु, नेपालका चर्चित व्यक्तित्व र विभूतिहरु, नेपालका राष्ट्र नायकहरुको व्यक्तित्व, साहित्यकार तथा सहिदहरुको परिचय, नेपालमा रहेका अग्ला हिमालहरु, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र मध्यवति क्षेत्रसहित नेपालमा मनाइने प्रमुख चाडहरुलाई समेटिएको छ ।

यसैगरी दोस्रो खण्डमा नेपालको संघीय संरचनामा रहेको भौगोलिक अवस्था, जिल्लाको परिचय र पर्यटकीयस्थलहरु लगायतलाई समेटेर संघीय संरचनाको सातै प्रदेशको भूबनौटलाई समेट्न खोजिएको छ । पुस्तकको आवरणसहित ७ सय ४ पृष्ठमा प्रकाशन गरिएको यो पुस्तकको मूल्य १ हजार २ सय २० रुपैयाँ तोकिएको छ भने काठमाडौ बागबजारस्थित भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो ।पिता छविराम न्यौपाने र माता महेश्वरा न्यौपानेका सुपुत्रको रुपमा २०२७ साल श्रावण ९ गते इलाम जिल्लाको फाकफोकथुम तत्कालीन लुम्दे गाविसमा जन्म भएका डा. लेखनाथ न्यौपानेका सरल होमियोप्याथिक चिकित्सा प्रणाली, ‘छोरा’ उपन्यास, ‘हराएका अनुहारह’ कथासंग्रह, ‘स्वस्थ्य कसरी रहने’ लेखसंग्रह प्रकाशित भईसकेका छन् भने दर्र्जनौ लेखरचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन भईरहेको पाइन्छ । डा. न्यौपानेको ‘मेरो देश’ नेपाल र नेपालीप्रति अनुराग राख्ने सम्पूर्ण महानुभावहरुमा समर्पण गरिएको पुस्तक हो ।

लेखकको बारेमा
Image
विमल लामिछाने

उहाँ नेपाल पत्रकार महासंघ कोशी प्रदेशको पूर्व कोषाध्यक्ष हुनुहुन्छ