९ असोज २०८३, शुक्रवार

झापामा विपद् प्रतिकार्य प्रभावकारी बनाउन ड्रोन प्रयोग

९ असोज २०८३, शुक्रवार
Image

धुलाबारी, ९ असोज बंगालको खाडीबाट सक्रिय भएको वर्षा प्रणालीका कारण उत्पन्न हुन सक्ने बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै झापामा ड्रोनमार्फत निगरानी थालिएको छ ।

विपद उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी गण झापाले डिभिजन वन कार्यालयसँग समन्वय गरी विपद् अवधिभर ड्रोन प्रयोगमा ल्याएको जनाएको छ । ड्रोनले पानीको सतह मापन गर्न सहयोग गर्नेछ ।

बर्षाले झापाका ठूला नदीको बाढी तथा किनारामा रहेका बस्तीको डुबानबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निगरानी र उद्धारमा सक्रिय रहन ड्रोन प्रयोगमा ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा उपलब्ध सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका स्रोतसाधनलाई विपद् प्रतिकार्यमा जुटाइएको बताउनुभयो । जोखिमयुक्त नदी तथा खोलाको जोखिम नक्साङ्कन अनुरूप पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती र डुबान हुनसक्ने सम्भावित स्थानमा विशेष निगरानी समेत गरिरहेको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी झापा गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले विगतको बाढीबाट पाठ सिकेर सम्भावित जनधनको क्षति रोक्न उद्धार टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ । सशस्त्र प्रहरीले विपद् सम्बन्धी सूचना दिन वा सहयोग लिनका लागि चौबीसै घण्टा खुला रहने टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

डिभिजन वन कार्यालयको सहयोगमा उपलब्ध गराइएको ड्रोन हाल विशेष गरी झापा गाउँपालिका जस्ता उच्च जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको छ । कनकाई नदीलगायत अन्य नदीहरूमा पानीको बहाव बढ्ने वित्तै जलाधार क्षेत्रमा साइरन बज्ने व्यवस्था मिलाइएको छ जसले स्थानीय बासिन्दालाई समयमै सुरक्षित रहन सचेत गराउनेछ ।

यस किसिमको प्रविधि र पूर्वतयारीले विपद्को समयमा हुने क्षतिलाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।