पौरखी युवा
पौरखी युवा
कुनै समय यस्तो पनि थियो जब उनलाई बिहान बेलुकाको छाक टार्न पनि मुस्किल हुन्थ्यो । पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । पानी पर्दा घरको छानो चुहिन्थ्यो । घरको आर्थिक अवस्थाकै कारण सानै उमेरदेखि मजदुरी गर्नु पर्ने बाध्यता उनमा थियो । कहिले अरुको खेतमा काम गर्ने, कहिले बजारमा गाई बाख्रा लिएर बेच्न जाने उनको दैनिकी जस्तो थियो । जसले उनलाई बिहान बेलुकाको छाक टार्न सहज हुन्थ्यो । जीवनमा सफलता सजिलै प्राप्त हुँदैन । कडा मेहनत, धैर्य र निरन्तर प्रयासले मात्र मानिसले आफ्नो लक्ष्य हासिल गर्न सक्छ । यही कुराको गतिलो उदाहरण बनेका छन्, मेचीनगर–२ भृकुटीका भीमबहादुर भट्टराई (दिनेश) । एउटा सामान्य युवा, जसले जीवनका धेरै दुःख–कष्ट सहेर आज सफल व्यवसायीको रूपमा पहिचान बनाएका छन् ।
२०७३ सालमा २७ सय रुपैयाँको सानो पुँजीबाट सुरु गरेको व्यापारले यतिबेला बार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने भएको छ । सीमित स्रोत साधन र विभिन्न चुनौती पूर्ण परिस्थितिका बाबजुरत पनि उनको निरन्तरको मेहेनत, दृढ संकल्प र आत्मविश्वासले आज उनलाई एक सफल व्यवसायी बनाएको छ ।
गाउँबाट गाई, गोरु र बाख्राको व्यापार सुरु गरेका भीमले कुनै समय धुलावारीमा सोमबार र शुक्रवार गाई र बाख्राको व्यापार गर्थे । त्यहिबाट उनलाई व्यापारमा पैसा कमाइ हुँदोरहेछ भन्ने अनुभूति भयो । आफ्नो पढाईलाई कक्षा १० पूरा गरेपछि उनी यहि पेशातिर लागे । यसो त उनले लामो समय विवेचना दैनिक समेत वितरण गरे । इटाभट्टाबाट भृकुटी यो पत्रिका वितरण गर्ने पहिलो व्यक्ति हुन् ।
उनले यतिबेला भुकृटीको सरस्वती टोलमा श्री गणेश नर्सरी उद्योग स्थापना गरेर व्यावसायिक नर्सरी खेती गर्दै आएका छन् । उनको नर्सरीमा ५ सय भन्दा बढी प्रजातिका विरुवा पाइन्छन् । विशेष गरेर बाहुनडाँगी सुपारी खेतीको उर्वर भूमि भएकाले उनले पनि सुपारीका विरुवालाई प्राथमिकतामा राखेर काम गर्छन् । उनको यो नर्सरीले झापाको गौरादह र चितवनको रत्ननगर नगरपालिकामा समेत शाखा विस्तार गरिसकेको छ ।
काम गर्ने दौरानमा शिव शक्ति गु्रप अफ कम्पनीमा रोजगार गरेका उनले कृषि क्षेत्रमा लागेर यसैमा विज्ञता हासिल गरेपछि यहि पेशा अंगाले ।
उनले भने इमान्दारी, मेहनत र लगनशीलताका साथ काम गरयो भने सफलता प्राप्त हुँदो रहेछ । उनले आफ्नो अनुभव र सीप प्रयोग गर्दै व्यापार विस्तार गर्न सकिने बताए ।
उनको काम गर्ने इच्छाशक्ति यतिमा मात्र सीमित भएन । उनले सुपारी प्रशोधन केन्द्र सञ्चालन गर्दै आएका छन् । उनकी श्रीमति तुलसी भट्टराईले उनको अभियानमा बलियो साथ दिएकी छिन् । उनी भन्छन्–‘आजको सफलताको मुख्य श्रेय मेरी श्रीमती नै हुन् ।’ उनले आफ्नो व्यवसायमा २० जना भन्दा बढीलाई रोजगार समेत दिदै आएका छन् ।
कुनै समय यहि ठाउँमा संघर्ष गरेका उनी अहिले सामाजिक क्षेत्रमा पनि क्रियाशिल हुन थालेका छन् । समाजमा परेका हरेक समस्याहरुमा साथ र सहयोग गर्दै आएका छन् । हालै भानु माविलाई ५० हजारका अक्षयकोष स्थापना गरेका छन् । साथै गाउँमै गणेश मन्दिर स्थापनाका लागि जग्गा र मन्दिर निर्माण गर्न लागि परेका छन् । उनी यतिबले भृकुटीमै सुविधा सम्पन्न पाटी प्यालेस खोल्ने तयारीका साथ काम समेत गरिरहेका छन् ।
युवाहरुलाई देशमा केही गर्न सकिन्दैन भनेर विदेश जाने लहरका बीच भीम गाउमै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् ।
आज उनी सफल व्यवसायीका रूपमा चिनिन्छन् । उनले आफ्नो मेहनतले राम्रो आर्थिक अवस्था बनाएका छन् र अरूलाई पनि रोजगारीको अवसर दिएका छन् । एक समय खान बस्नसमेत समस्या भएको व्यक्ति आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन् ।
