२१ कार्तिक २०८३, शुक्रवार

महिला जनचेतनाद्वारा अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुँदै

२१ कार्तिक २०८३, शुक्रवार
Image

झापा, २० कात्तिक । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत मंसिर ९ गतेदेखि काँकरभिट्टा खेल मैदानमा अन्तरपालिकास्तरीय फुटबल प्रतियागिता हुने भएको छ । 

महिला जनचेतना केन्द्रले बाल विवाह अन्त्य गर्ने उद्देश्य राखेर झापा जिल्लास्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिता गर्र्नेे संस्थाकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । 

“बाल विवाह अन्त्य अभियानमा, महिलाको शक्ति खेल मैदानमा” भन्ने नारासहित आयोजना गरिने प्रतियोगिताले महिला तथा किशोरीहरुको फुटबल खेलमा सहभागिता अभिवृद्धि गर्ने, खेलकुदमार्फत लैंगिक समानता तथा महिला सशक्तिकरणको सन्देश प्रवाह गर्ने, किशोरीहरुको आत्मविश्वास बढाउने उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका १५ वटै स्थानीय पालिका मध्ये दशवटा पालिकाले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । जिल्ला खेलकुल विकास समितिको सहकार्यमा हुने खेलका लागि खेलमैदानको व्यवस्थापन, सहभागी टिमको दर्तालगायतका काम सुरु भइसकेको संस्थाकी अध्यक्ष सीता गुरुङले जानकारी दिनुभयो । 

खेलका रेफ्रीसमेत महिलालाई राखिने उहाँको भनाई छ । प्रतियोगिता सम्पन्न गर्नका लागि रु. ९ लाख ६२ हजार रकमको अनुमान गरिएको छ । पहिलो विजेतालाई रु. एक लाख ११ हजार, उपविजेतालाई रु. ५१ हजार पुरस्कारको व्यवस्था गएिको उहाँले बताउनुभयो । 

यसैगरी, उत्कृष्ट गोल रक्षकलाई रु तीन हजार १००, सर्वाधिक गोलकर्ता, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डका एक एक जनालाई रु तीन हजार १००का दरले पुरस्कार वितरण गरिनेछ । वि.सं. २०६० सालमा स्थापना भएको यो संस्थाले घरेलु तथा लैंगिक हिंसा न्यूनीकरण, बाल अधिकारी सुनिश्चितता गर्न र बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको छ । 

संस्थाले मानव अधिकार, सामाजिक न्याय र शान्ति लैंगिक समानता, समानता, सामाजिक समावेशीकरण, शिक्षा खेलकुद, स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, पर्वावरण, जलबायु परिवर्तनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।