१३ जेठ २०८३, बुधवार

तीन वर्षमा ६०६ किशोरीले लिए सुरक्षित गर्भपतन सेवा

१३ जेठ २०८३, बुधवार
Image

झापा, १३ जेठ । बीस वर्षभन्दा कम उमेरमा गर्भपतन गराउनेको संख्या झापामा उल्लेख्य पाइएको छ । जसले किशोरी पुस्तामा सुरक्षित यौन व्यवहारको कमी रहेको संकेत गरेको छ ।

झापामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्था २७ वटा रहेका छन् । नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट, स्वास्थ्य सेवा केन्द्र लगायत छन् । निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि यो सेवा प्रदान गर्दै आएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार बिगत तीन वर्षमा सूचीकृत संस्थाबाट १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये २० वर्षमुनिका ६०६ जना किशोरी रहेका छन् ।  

आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जसमध्ये २९२ जना २० वर्षमुनिका किशोरी थिए । यो संख्या पछिल्ला वर्षहरुमा घट्दो अवस्थामा छ ।

आर्थिक वर्ष २०८१/८२ मा सुरक्षित गर्भपतन सेवा लिनेको कूल संख्या तीन हजार ६३७ जना र २० बर्षमुनिका १८३ जना किशोरी थिए । आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा सेवा लिनेको कूल संख्या दुई हजार ५८५ जना र २० वर्षमुनिका किशोरीको संख्या १३१ जना पुगिसकेको श्रेष्ठले बताउनुभयो । 

बिगत तीन वर्षको तथ्यांक विश्लेषण गर्दा सुरक्षित गर्भपतनका लागि महिलाले शल्यक्रियाभन्दा औषधि सेवनको विधि रुचाएको देखिएको छ । 

आव २०८०/८१ देखि चालू आव २०८२/८३ सम्ममा औषधि विधि प्रयोग गरेर छ हजार १६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । सुरक्षित गर्भपतन गराउने कूल १० हजार ४१ जनामध्ये चार हजार २५ जनाले मात्र शल्यक्रिया विधि रोजेका थिए ।

असुरक्षित गर्भपतनका कारण मृत्युको घटना सरकारी अभिलेखमा छैन । तथापि सूचीकृत नभएका र निजी स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने जोखिममा हुन्छन् । जसको आधिकारिक तथ्यांक उपलब्ध हुँदैन । 

सरकारी स्वास्थ्यमा जाँदा नाम लेखिने र व्यक्तिगत विवरण खोजिने भएका कारण गोपनियताका लागि कतिपय महिलाहरु सूचीकृत नभएका संस्था र योग्यता नपुगेका स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिन पुग्ने गरेका हुनसक्छन् ।