१८ जेठ २०८३, सोमवार

जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा धुलाबारी माविकी दाहाल प्रथम

१८ जेठ २०८३, सोमवार
Image

झापा, १८ जेठ । महिला जनचेतना केन्द्र मेचीनगरद्वारा आयोजित जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा धुलाबारी माध्यमिक विद्यालयकी छात्रा आरती दाहाल प्रथम हुनुभएको छ । 

सोमबार विर्तामोडमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाकी शिक्षा गौतम दोस्रो र एभरेष्ट स्मार्ट भद्रपुरका अनमोल कार्की तेस्रो भएको मूल्याङ्कनकर्ता एवम् पूर्व प्राज्ञ सदस्य पवन राजवंशीले जानकारी दिनुभयो ।

केन्द्रकी निर्देशक राधा प्रधान कार्कीले कार्यक्रममा जिल्लाका १५ वटै पालिकाका बाल सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको जानकारी दिनुभयो । उनीहरुले बाल विवाह नगर्दाको सकारात्मक पक्षको उजागर हुने चित्रहरु कोरेका थिए ।

जिल्ला स्तरीय चित्रकला प्रतियोगिता तथा गोष्ठीको उद्घाटन कोशी प्रदेशका सांसद एकराज कार्कीले गर्नुभएको थियो । कार्यक्रममा हराएका बालबालिका खोजतलास समन्वय केन्द्र कोशी टोल फ्रि हेल्पलाइन नम्बर १०४ का अधिकृत सुमन अधिकारीले प्रदेशमा बालविवाहको अवस्था, चुनौती र बाल विवाह अन्त्य गर्न तयार गरिएको रणनीति बारेमा सहजीकरण गर्नुभएको थियो ।

बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्ता खरेल, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने, प्रहरी उपरीक्षक बसुन्धरा खड्कालगायतले बालविवाहले पारिरहेको असर र चुनौतीका बारेमा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा, मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती, नेपाल पत्रकार महासंघ कोशी प्रदेशी उपाध्यक्ष अम्बिका भण्डारी, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिाका आचार्य, एवीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, महिला मुक्ति आवाजकी अध्यक्ष राधा सुब्बालगायतको उपस्थिति रहेको थियो ।

केन्द्रकी निर्देशक प्रधानले संस्थाले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले संस्थाले बाह्रदशी, कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिकाका विभिन्न विद्यालयमा बाल विवाह न्यूनीकरण र किशोरी शिक्षासम्बन्धी काम गरिरहेको बताउनुभयो ।

संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कचनकवलकी सामाजिक परिचालिका खन्जन राजवंशीले गर्नुभएको थियो  भने संचालन देशिखा शिवाकोटीले गर्नुभयो ।