झापा, २१ जेठ । विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैंगिक हिंसाबाट प्रभावित हुनेहरुलाई सेवा प्रदान गर्नका लागि दुई वटा वडामा ‘सुरक्षित कक्ष (सेफ स्पेस)’ स्थापना गरेको छ ।
नगरमा गत वर्षदेखि गुरुयोजनाको रुपमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सेवा पहुँच परियोजना लागू भएको छ । जसको एउटा इकाईको रुपमा ‘सुरक्षित कक्ष’ सञ्चालनमा ल्याइएको नगरपालिकाकी महिला, वालवालिका तथा सामाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेलले बताउनुभयो ।
मेचीनगरको वडा नं. ८ र १५ मा ‘सुरक्षित कक्ष’ स्थापना गरिएको र नगरभित्र हिंसामा परेका नागरिकले त्यहाँ आएर सेवा लिनसक्ने उहाँले जानकारी दिनुभयो ।
‘सुरक्षित कक्ष’मा हिंसामा परेका खासगरी वालवालिका, किशोरी र महिलाले सुरक्षित आश्रय र मनोपरामर्श प्राप्त गर्नेछन् । जोखिममा रहेका पीडितलाई सुरक्षाका लागि प्रहरी, न्यायका लागि अदालत र उपचारका लागि स्वास्थ्य निकायसम्म पुर्याउन त्यहाँका कर्मचारीले सहयोग पुर्याउने उहाँले बताउनुभयो ।
हरेक ‘सुरक्षित कक्ष’मा हिंसापीडितलाई तत्काल चाहिने सहयोग प्रदान गर्नका लागि एक जना केस मेनेजर, मनोपरामर्शदाता र केस वर्करको नियुक्ति गरिएको छ ।
समस्यामा परेका वालवालिका तथा किशोरीहरुको पहिचान गरी उनीहरुलाई पहिलो सेवा दिने काम नै केस वर्करको भएको मेचीनगर–८ स्थित ‘सुरक्षित कक्ष’की केस वर्कर शान्ति मेहराले बताउनुभयो ।
“सेवाग्राहीहरु आफै आएर सेवा लिन सक्नुहुन्छ या कतै हिंसामा परेको जानकारी प्राप्त भएमा हामी आफै पुगेर पीडित व्यक्तिलाई सुरक्षित कक्षमा ल्याउँछौं,” उहाँले भन्नुभयो– “उनीहरुलाई तत्काल चाहिने खाद्यान्न, आवास, कानूनी परामर्श सेवा उपलब्ध गराउँदै आएका छौं ।”
कोशी प्रदेमा सबैभन्दा बढी महिला हिंसाका घटना झापामा हुने गरेको प्रहरीको अध्ययनले जनाएको छ । त्यहीकारण झापामा हिंसा नियन्त्रण गर्न परियोजना लागू भएको हो । मेचीनगरमा परियोजना अन्तर्गत पुरुष सञ्चाज समेत गठन भइसकेको छ ।