झापा, २२ जेठ । इलामको रोङ गाउँपालिकाले कृषि पेसालाई थप सम्मानित, दिगो र उद्यमशील बनाउने उद्देश्यका साथ ‘गुरु किसान मार्गदर्शन’ पुस्तक प्रकाशन गरेको छ ।
बर्षौंदेखि खेतबारीमा संघर्ष गर्दै आएका किसानहरु नै बास्तविक विज्ञ हुन र उनीहरुको अनुभवलाई ज्ञानमा रुपान्तरण गर्दै अन्य किसानलाई हस्तान्तरण गर्ने लक्ष्यसहित दुई बर्ष अघिदेखि सुरु गरेको ‘गुरु किसान’ कार्यक्रमलाई समेटेर पुस्तक निकालिएको पालिकका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिनुभयो ।
डा. योगेन्द्रमान श्रेष्ठ र लोकप्रिय खनालले तयार पार्नु भएको पुस्तकमा दीगो तथा प्राङ्गरिक कृषि प्रणाली, माटो र पानीको संरक्षण, जलबायु परिवर्तन अनुकूलन, कृषि उद्यम व्यवस्थापन, वित्तीय डिजिटल साक्षरतादेखि बजार, मूल्य श्रृंखला र जोखिम व्यवस्थापनसम्मका विषयलाई सरल भाषामा उल्लेख गरिएको छ ।
“हाम्रो प्रयास उत्पादनमा मात्र सीमित छैन”, पालिका अध्यक्ष स्याङ्बो भन्नुहुन्छ “उत्पादन, प्रशोधन र बजारीकरणलाई एकीकृत रुपमा अघि बढाउँदै स्थानीय रोजगारी सिर्जना, आय बृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्नु हाम्रो लक्ष्य हो ।”
उहाँले पुस्तक पढ्ने हरेक किसान, उद्यमी, विद्यार्थी र सरोकारवालामा ‘म पनि गुरु किसान’ बन्न सक्छु भन्ने आत्मविश्वास जागृत हुने अपेक्षा गरेको बताउनुभयो । पुस्तक १३ वटा खण्डमा विभाजन गरेर २७६ पृष्ठको निकालिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासका अनुसार नेपालमै पहिलोपटक ‘गुरु किसान’को नौलो अवधारणालाई कृषि विकास र उद्यमशीलताको मूल प्रवाहमा स्थापित गर्ने प्रयास पालिकाले गरेको हो ।