झापा, ११ भदौ । बुद्धशान्ति गाउँपालिकाले स्थानीयबासीको सर्पदंशको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ ।
पालिकाबासीलाई निःशुल्क सर्पदंश उपचार गर्नका लागि मेचीनगरस्थित चारआली सर्पदंश उपचार केन्द्रसँग बुधवार सम्झौता गरेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताउनुभयो ।
सम्झौता अनुसार पालिकामा स्थायी बसोबास गरिरहेकाहरुलाई परिचयपत्रका आधारमा र अस्थायी बसोबास गरिरहेकाहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा सर्पदंशको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने भएको हो ।
चारआलीस्थित सर्पदंश उपचार केन्द्र नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा सञ्चालित छ । बुद्धशान्ति गाउँपालिकाले तत्काल रु. पाँच लाख उपचार केन्द्रलाई प्रदान गरेको छ ।
सर्पदंशको आकस्मिक परिस्थितिमा आर्थिक अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर निःशुल्क उपचारको सम्झौता गरिएको पालिका अध्यक्ष प्रसाई बताउनुहुन्छ । सम्झौता अनुसार उपचार केन्द्रमा बुद्धशान्ति गाउँपालिकाबाट आउने बिरामीले अब उपचारमा कुनै रकम बुझाउने पर्नेछैन ।
बुद्धशान्ति गाउँपालिकाले यसअघि पालिकाबासीका लागि निःशुल्क रक्तसञ्चार सेवा र निशुल्क शव वाहन सेवा उपलब्ध गराउँदै आएको छ भने प्रसुतिको अवस्थामा अस्पताल जान वा आउन एम्बुलेन्सको भाडा समेत प्रदान गर्दै आएको छ ।
सर्पदंश उपचार निःशुल्क प्रदान गर्नका लागि पहल गर्ने बुद्धशान्ति झापाको पहिलो पालिका रहेको चारआली सर्पदंश उपचार केन्द्रका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । अन्य पालिकाहरुले पनि आर्थिक सहयोग गरेमा केन्द्रबाट सबैका लागि निःशुल्क सेवा उपलब्ध गराउने सकिने सम्भावना रहेको उहाँको भनाई छ ।
उहाँले उपचार केन्द्रलाई एउटा एम्बुलेन्सको खाँचो रहेको र त्यसका लागि प्रदेश र संघीय सरकारसँग पहल भइरहेको जानकारी दिनुभयो ।
(फाइल फोटो)