१८ कार्तिक २०८३, मङ्गलवार

सरकारले अब लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

१८ कार्तिक २०८३, मङ्गलवार
Image

झापा, १७ कात्तिक । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले वत्र्तमान सरकारले सुकुम्बासी समस्या सँधैका लागि समाधान गर्दै लालपूर्जा वितरणको तयारी गरिरहेको बताउनु भएको छ । 

कनकाई नगरपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग सोमवार सुरुंगामा प्रत्यक्ष भेटेर मन्त्री रावलले उक्त प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।  

“जो आउँछन् आश्वासन मात्र दिएर जान्छन् भन्ने तपाईहरुलाई लागेको हुनसक्छ,” सुकुम्बासी परिवारलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “हजुरहरु ढुक्क हुनुहोस् । यो सरकारले लालपूर्जा दिने हो, आश्वासन होइन ।”

उहाँले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेललाई साक्षी राखेर कनकाई नगर क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई अबको केही समयमै जग्गाको लालपूर्जा वितरण गरिने बताउनुभयो ।

सुकुम्बासीहरुलाई कसरी छिटोभन्दा छिटो जग्गाको लालपूर्जा वितरण गर्न सकिन्छ भनेर आफू यथार्थ बुझ्न झापा आएको जनाउँदै उहाँले भन्नुभयो– “काम अगाडि बढिसकेको छ । कामलाई अझ तीब्रता कसरी दिन सकिन्छ भनेर छलफल भएको छ । यो भएन, त्यो भएन भन्ने अब बहानाबाजी हुनेछैन ।”

उहाँले सुकुम्बासी समस्या हरेक चुनावको मुद्धा बन्ने गरेको चर्चा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले यो समस्याको समाधान गरेर चुनावमा मुद्धा लैजानुपर्ने अवस्था आउन अव नदिने बताउनुभयो । 

सो अवसरमा मन्त्री रावललाई स्थानीबासीले आफ्ना समस्या खुलेर सुनाएका थिए । कनकाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले यहाँका पाँच सय परिवार वि.सं. २०१९ देखि बसोबास गर्दै आए तापनि अहिलेसम्म जग्गाको लालपूर्जा नपाएको बताउनुभयो ।

मन्त्री रावलले सोमवार विहान जिल्ला प्रशासन कार्यालय झापामा जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नका लागि तीब्र गतिमा काम गर्न निर्देशन दिनु भएको थियो ।

यसैगरी, मन्त्री रावलले दमक नगरपालिका वडा नं. ८ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भेटेर उहाँहरुको गुनासो सुन्नु भएको थियो । उहाँले सोमवार दमकमा सहकारी पीडितहरुसँग छुट्टै भेटेर बचत फिर्ता गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।