७ जेठ २०८२, मङ्गलवार

चट्याङको ८० प्रतिशत क्षति रोक्न सकिन्छ : जलवायु विज्ञ मदन सिग्देल

७ जेठ २०८२, मङ्गलवार
Image

झापा, ६ जेठ । नेपालमा विपद्बाट जनधनको क्षति हुने दोस्रो ठूलो कारण चट्याङ हो । 

चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका धेरै घटना हुने गरेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल बताउनुहुन्छ ।

उहाँका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्था नै नेपालमा बढी चट्याङ पर्ने कारण भएको उहाँ बताउनुहुन्छ । 

चट्याङलाई रोक्न नसकिने तर त्यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने उहाँ बताउनुहुन्छ । सचेतना नै चट्याङबाट हुने क्षति रोक्ने सबैभन्दा प्रभावकारी उपाय भएको उहाँको धारणा छ ।

“विकसित मुलुकको तुलनामा नेपालमा धेरै मानवीय तथा भौतिक क्षति हुनुको कारण नै चेतना र प्रविधिको अभाव हो,” जलवायु विज्ञ सिग्देल भन्नुहुन्छ–“हामीले गरेको सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिसहरु खुला स्थानमा जाँदा भएको पाएका छौं । त्यस्तो क्षतिलाई रोक्न सकिने सम्भावना छ ।”

मनसुनको समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उहाँले त्यही समयमा खेतीमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईवस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताउनुभयो ।

त्यस्ता कामहरु मध्याह्न अगावै गरिसक्ने र मेघ गर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतः न्यूनीकरण हुने उहाँले बताउनुभयो ।

नेपालमा चट्याङबाट चार वर्षमा २३७ जनाको मृत्यु र ९०८ जना घाइते भएका छन् । 

बिगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका २९५ वटा घटना भएको र ३६६ घर यसबाट प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ बताउनुभयो । 

उहाँका अनुसार सोही अवधिमा कोशीमा चट्याङ लागेर ५१ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।