२९ असोज २०८२, बुधवार

झापामा बाढीका कारण रु.साढे सात करोडभन्दा बढीको कृषिजन्य वस्तुमा क्षति

२९ असोज २०८२, बुधवार
Image

झापा, २९ असोज । अविरल बर्षापछि आएको बाढीका कारण जिल्लामा सात सय ९७ जना किसानको रु.सात करोड ६० लाख २८ हजार २२० को कृषिजन्य वस्तुमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । 

ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बाढीले बगाउँदा सो बराबरको क्षति भएको हो । 

उहाँले बाढीका कारण सबैभन्दा बढी पाक्न लागेको धान खेतीमा क्षति पुगेको जानकारी दिनुभयो । बाढीका कारण चार सय ६३ दशमलव ४२ हेक्टर क्षेत्रफलमा उत्पादन हुने एक हजार ७४४ दशमल ३३ मेट्रिक टन धानमा क्षति पुग्दा रु. पाँच करोड ७५ लाख २३ हजार बराबरको क्षति भएको जानकारी दिनुभयो । 

प्रमुख विष्टले गत असोज १८ गतेदेखि २० गतेसम्म परेको अविरल बर्षाका कारण सात दशमलव १२ हेक्टर जमिनको तरकारी रु.३८ लाख दुई हजारको, आलु रु.१९ लाख ६० हजारको, केरा रु. एक करोड १५ लाख ९२ हजारको, अन्य बाली (जुट, मास, भूईकटर) रु. एक लाख ५० हजार बराबरको क्षति भएको बताउनुभयो । 

उहाँले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिनुभयो । यो पालिकाको वडा नं. १,२ र ३ का ४३१ किसानको रु. पाँच करोड १४लाख ४७ हजार बराबरको धान, आलु केरा क्षति भएको थियो ।