झापा, ३ चैत । कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उहाँलाई धौ–धौ थियो । अभावको तुवाँलोले घेरिएको त्यो संघर्षकालमा उहाँले कति रात भोकै त कति रात अरूको मजदुरी गरेर बिताउनु पर्यो । तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्बिर बदलिएको छ । हिजो अर्काको मजदूरी गर्ने भीमबहादुर आज सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ ।
सानैदेखिको गरिखाने यही सोचले आज उहाँलाई वार्षिक करोडको कारोवार गर्ने उद्यमी बनाएको हो । भृकुटीको सरस्वती टोलमा उहाँको गणेश नर्सरी उद्योग सञ्चालनमा छ । जहाँ पाँच सयभन्दा बढी प्रजातिका विरुवा उत्पादन हुन्छन् । झापादेखि चितवनसम्मको बजारमा यही नर्सरीका विरुवा विक्री हुने गरेको छ ।
वि. सं. २०७३ मा आफ्नो खल्तीमा भएको मात्र रु. दुई हजार ७०० को सानो पुँजीबाट नर्सरी व्यवसायको श्रीगणेश गरेको भीमबहादुरले बताउनुभयो । सीमित स्रोत र साधनका बाबजुद उहाँको दृढ संकल्पले आकार लिँदै गयो । अहिले नर्सरी व्यवसायबाटै उहाँले वार्षिक करोडभन्दा बढीको आर्थिक कारोवार गर्नुहुन्छ । उद्यम गरेरै उहाँले सुविधाजनक घर र घडेरी जोड्नु भएको छ ।
“आफ्नै पौरखमा बाँच्नु पर्छ भन्ने सानैदेखिको मेरो भावना थियो,” भीमबहादुर भन्नुहुन्छ– “सानो छँदा कुखुरा व्यापार गरेर घर खर्च चलाउन सघाउँथे । अहिले नर्सरी उद्योग र सुपारी प्रशोधन उद्योग चलाउँदैछु । पहिले अरुकोमा मजदुरी पनि गर्थेँ, अहिले अरुले मेरो उद्योगमा रोजगारी पाइरहनु भएको छ ।”
झापा सुपारी खेतीको उर्वर भूमि भएकाले उहाँले सुपारीका बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । झापाको गौरादह र चितवनको रत्ननगरमा नर्सरीका शाखाहरू फैलिएका छन् ।
उहाँले सुपारी प्रशोधन उद्योग सञ्चालन गर्दै आउनु भएको छ । गाउँमा घरैपिच्छे सुपारी फलेका छन् । आफूले किसानबाट खरिद गरेको सुपारी उद्योगमा प्रशोधन गरेर विक्री गर्दै आएको बताउनुभयो । सुपारी उद्योगमा समेत स्थानीयले मनग्य रोजगारी पाएका छन् ।
भीमबहादुरको सफलताको जग मिहेनतको जगमा उभिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरमा काँधमा जिम्मेवारी बोक्नुपर्यो । कहिले अरूको खेतमा पसिना बगाउने त कहिले गाउँका कुखुरा, गाई र बाख्रा डोहोर्याउँदै बजार पुर्याएर बेच्ने उहाँको दैनिकी थियो । स्थानीइ हटियामा गाई–बाख्राको व्यापार गर्दागर्दै उहाँले व्यापारको कखरा सिक्नुभयो ।
त्यति मात्र होइन, उहाँले नवयुवा उमेरमा विवेचना दैनिक पत्रिका वितरण गर्ने ‘हकर’को काम समेत गर्नुभयो । कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उहाँ पूर्ण रूपमा स्वरोजगारको खोजीमा लाग्नुभयो । शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दा उहाँले कृषि क्षेत्रको व्यावसायिक ज्ञान र विज्ञता हासिल गर्नुभयो, जसले उहाँको जीवनलाई नयाँ मोड दियो ।
“इमान्दारी, मेहेनत र लगनशीलताका साथ काम गर्यो भने सफलता टाढा हुँदोरहेनछ,” उहाँको सफलतालाई नजिकबाट नियालिरहनु भएको नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ भन्नुहुन्छ– “आफ्नो अनुभव र सीपलाई सही ठाउँमा प्रयोग गर्न सके गाउँमै सुन फलाउन सकिँदो रहेछ । विदेश जानु पर्दोरहेनछ भन्ने उहाँले प्रमाणित गरिदिनुभयो ।”
भीमबहादुरको यो व्यावसायिक फड्कोमा उहाँकी धर्मपत्नी तुलसी भट्टराईको बलियो साथ छ । “मैले कहिले पनि उहाँलाई विदेश गएर धन कमाउनुहोस् भनिन,” भीमबहादुरकी पत्नी तुलसी भन्नुहुन्छ– “उहाँमा अल्छी भावना कहिल्यै पाइन । कामलाई ठूलो र सानो भनेर छुट्याउनु हुन्न । उहाँलाई देखेर गाउँका युवाहरु व्यवसायमा लाग्न थालेका छन् ।”
भीमबहादुरले आफ्नो नर्सरी र सुपारी प्रशोधन उद्योगमा २० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिनु भएको छ । व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । भानु माध्यमिक विद्यालयमा रु. ५० हजारको अक्षयकोष स्थापना गर्नु भएको छ भने गाउँमा गणेश मन्दिर निर्माणका लागि जग्गा र आर्थिक सहयोग जुटाउनु भएको छ । भृकुटी गाउँमा सुविधासम्पन्न पाटी प्यालेस निर्माणको अन्तिम तयारीमा जुट्नु भएको छ ।
रोजगारीको खोजीमा खाडी मुलुक पस्ने युवाहरूको लहरका बीच भीमबहादुर स्वदेशमै पसिना बगाएर सफल बनेको उदाहरण हुनुुहुन्छ । मेहेनत, धैर्य र निरन्तर प्रयासले कसरी एउटा सामान्य मजदुरलाई सफल उद्यमी बनाउन सक्छ भन्ने कुराको जीवन्त पात्र हुनुहुन्छ– भीमबहादुर ।