२५ कार्तिक २०८३, मङ्गलवार

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

२५ कार्तिक २०८३, मङ्गलवार
Image

झापा, २४ कात्तिक । ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका वडा नं. ११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन् । अब उहाँको ५० घारमा मात्र मौरी बाँकी छन् । 

अठार वर्षअघि रु. एक हजारको लगानीमा दुई घार मौरीबाट व्याबसायिक मौरीपालनमा होमिनु भएको उहाँको समूहसँग कुनै बेला ९०० घारसम्म मौरी थिए । वार्षिक १० हजार केजी शुद्ध मह उत्पादन गर्दै उहाँले वर्षेनी रु. ३० लाखसम्म आम्दानी गर्नुहुन्थ्यो ।

मौरीपालनकै कारण राष्ट्रपति पुरस्कार समेत पाउनु भएको उहाँ रोगको संक्रमण र बजारको समस्या चुनौति बनेर खडा भएपछि अब मौरीपालनलाई निरन्तरता दिन कठिन भइरहेको बताउनुहुन्छ ।

“रोग संक्रमणले ठूलो क्षति भयो,” उहाँ भन्नुहुन्छ– “ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण नै छैन ।” 

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनहरुमा रोग संक्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् ।

कनकाईका भुवन अधिकारीले एक सय घार मौरीपालनबाट वार्षिक रु. २० लाख आम्दानी गर्दै आएको बताउनुभयो । कनकाई मौरीपालन उद्योगका सञ्चालक उहाँले व्यावसायिक मौरीपालनले लगानी अनुसारको प्रतिफल दिन नसकेको गुनासो सुनाउनुभयो । 

चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसानहरु चिन्तित बनेको उहाँको भनाई छ । उहाँले मौरीपालन व्यवसायलाई जगेर्ना गर्न स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो । 

शिवसताक्षी नगरपालिकामा अहिले पनि किसानहरुले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेको कृषि शाखा प्रमुख रविन भट्टराई बताउनुहुन्छ । मौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्दै जानुमा रोग संक्रमण, विषादीको प्रयोग र बजारको समस्या नै प्रमुख कारण रहेको छ ।

वार्षिक दुई हजार केजीससम्म मह उत्पादन गर्दै आउनु भएको शिवसताक्षीका किसान नन्दकुमार दंगालले खेतबारीमा जथाभावी विषादीको प्रयोगले मौरीपालन व्यवसायमा ठूलो संकट निम्तिएको बताउनुभयो ।

किसानहरुले भोगिरहेका समस्याको समाधान गर्दै महको बजारिकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्याउन सके मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्न सकिने शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ ।