२५ कार्तिक २०८३, मङ्गलवार

मेचीनगरमा शङ्खधरको शालिक अनावरण, दाहाल सम्मानित

२५ कार्तिक २०८३, मङ्गलवार
Image

झापा, २४ कात्तिक । मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवम् नेपाल सम्बतका प्रवत्र्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ । 

भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक आज न्हुँदया भिन्तुनाको अवसर पारेर मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले अनावरण गर्नुभयो । अनावरण कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, अग्रज राजनीतिज्ञ राम कट्टेल, वडाध्यक्ष नारायण खनाल लगायतका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

शालिक निर्माणमा रु. २० लाख खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिनुभयो । राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक हो । मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि रु. पाँच लाख बजेट उपलब्ध गराएको र अरु रकम जनसहयोगबाट जुटाइएको उहाँले बताउनुभयो ।

शालिक राखिएको स्थललाई समेत भक्तपुरे प्राचीन कला शैलीमा सजाइएको छ भने शालिकका लागि एउटै ढुंगामा मूर्ति कुँदिएको निर्माण समितिका सचिव मिलनराज प्रसाईले बताउनुभयो ।

इतिहासविद् दाहाल सम्मानित

कार्यक्रममा इतिहासविद् तथा वरिष्ठ पत्रकार चिन्तामणि दाहाललाई शङ्खधर साख्वाको योगदानको खोज गर्नु भएकोमा कदरस्वरुप सम्मानित गरिएको छ ।

नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले दाहाललाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा सम्मानित दाहालले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संयोजक शंकर बस्नेतको सभापतित्वमा भउको कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वरिष्ठ पत्रकार चन्द्र भण्डारी र शालिक निर्माण समितिका संयोजक दिनेश शाक्यले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सो अवसरमा शालिक निर्माणका लागि जग्गा र चन्दा सहयोग गर्नु हुनेहरुलाई सम्मान गरिएको थियो । अनावरण अघि विहान झाँकी र बाजागाजा सहितको र्यालीले धुलाबारी बजार परिक्रम गरेको थियो ।