मेचीनगर, १४ बैशाख । जेन्जी आन्दोलनका बेला आगजनी भएको गिरिजा स्मृति भवनबाट नेपाली कांग्रेसले झापा क्षेत्र नं. १ मा ‘जरा अभियान’ सुरु गरेको छ ।
मेचीनगर–१० धुलाबारीस्थित गिरिजा स्मृति भवनमा गत भदौ २४ गते आगजनी भएको थियो । आगजनीपछि भवनलाई सामान्य मर्मत र सरसफाई गरेर कामचलाउ अवस्थामा ल्याइएको छ ।
‘जरा अभियान’का लागि केन्द्रबाट आउनु भएको प्रतिनिधि बसन्त भट्टराई शनिवार कार्यक्रमका लागि उक्त भवनमा पुग्नुहुँदा परिसरमा रहेको स्व. गिरिजाप्रसाद कोइरालाको अर्धकदको शालिक अवलोकन गर्नुभयो । जेन्जी आन्दोलनकारीले भदौ २४ गते भवनमा आगो लगाउँदा शालिकमा पनि तोडफोड गरेका थिए ।
भवनको माथ्लो तलामा रहेको सभाहलमा कार्यक्रम भएको थियो । हलको सिलिङमा आगोले डढेर कालाम्य भएको अवशेष प्रस्टै देखिन्थ्यो । कार्यक्रमका सहभागी र अतिथिहरु सभाहलमा पुग्दा भावुक बनेको देखिन्थे ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माको गृह नगरमा रहेको यो भवन पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुले चन्दा दिएर निर्माण गरेका थिए ।
केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा भएको क्षेत्रस्तरीय अभिमुखीकरणमा पार्टीका कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझी, झापाका सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, पूर्व सचिवद्वय प्रेम सम्बाहाम्फे र ताराविर कटुवाल, राधा कार्की, सुदय पनेरु लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले वास्तविक क्रियाशिल सदस्यहरुको अद्यावधिक वडा तहबाटै थालिएको बताउनुभयो । उहाँले कांग्रेस जराबाटै बलियो भएर अघि बढ्ने धारणा राख्नु भएको थियो ।
नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । बुढाथोकीले बैशाख १६ गतेबाट वडा तहमा क्रियाशिल सदस्यता अद्यावधिक कार्य थालिने जानकारी दिनुभएको थियो ।
जरा अभियान हाल झापाका पाँच वटै क्षेत्रमा सुरु गरिएको छ । पहिलो चरणमा क्षेत्रीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । जसमा डिजिटल प्रविधिबाट क्रियाशील सदस्यता अद्यावधिक गर्न समेत प्रशिक्षण सामेल छ ।