१७ कार्तिक २०८३, सोमवार

नेपाल पथ पार्टीद्वारा देशैभर संगठन विस्तार गर्ने निर्णय

१७ कार्तिक २०८३, सोमवार
Image

झापा, १६ कात्तिक । नवगठित नेपाल पथ पार्टीले देशैभर संगठन विस्तार गर्ने लक्ष्यसहित छ वटा प्रदेशमा पार्टीको प्रमुख चयन गरेको जनाएको छ । 

पार्टीका अध्यक्ष दुर्गा प्रसाईको अध्यक्षतामा विर्तामोडमा आइतवार सम्पन्न केन्द्रीय समितिको प्रथम बैठकले कोशी प्रदेशमा पार्टीको प्रमुखमा प्रेम थापा मगरलाई चयन गरेको हो ।

बैठकले मधेश प्रदेशमा देवी संग्रौला, बागमती प्रदेशमा दिलिपबहादुर बस्नेत, लुम्बिनी प्रदेशमा माधव कल्पित, गण्डकी प्रदेशमा ऋषि चापागाई र सुदूरपूर्व प्रदेशमा मीना कँडेललाई पार्टीको प्रमुख चयन गरेको लुम्बिनी प्रदेशका पार्टी प्रमुख कल्पितले जानकारी दिनुभयो ।

झापाको बिर्तामोडमा शनिवार सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतवार सम्पन्न भएको थियो । बैठकले आगामी मङ्सिर ७ गते दमकमा पार्टीको प्रथम घोषणा सभा आयोजना गर्ने निर्णय गरेको नेता कल्पितले बताउनुभयो ।

पार्टीले विभिन्न विभागीय कमिटीहरु समेत गठन गरेर जिम्मेवारी तोक्ने निर्णय गरेको छ । जस अनुसार खेलकुद विभाग प्रमुखमा डा. ओमकृष्ण प्रसाई, महिला विभाग प्रमुखमा एनी कुँवर, सांस्कृतिक विभाग प्रमुखमा दिनेश पाख्रिन, वार्ता, संवाद, समन्वय, संगठन तथा अनुगमन विभाग प्रमुखमा राजु आचार्य, आर्थिक तथा वित्तीय पीडित न्याय विभाग प्रमुखमा देवी सङ्ग्रौला, यातायात विभाग प्रमुखमा नारायणप्रसाद भट्टराई, अनुशासन विभाग प्रमुखमा दिलिपबहादुर बस्नेत र कृषि विभाग प्रमुखमा गणेशलाल डोम्ब्रेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

पार्टीले प्रदेश, जिल्ला र स्थानीय तहसम्म पार्टीको सांगठनिक संरचना निर्माण गर्ने निर्णय गरेको जनाइएको छ । दमकमा आयोजना हुने प्रथम घोषणा सभामार्फत पार्टीको राजनीतिक उद्देश्य, विचार, नीति, कार्यक्रम तथा भावी कार्यदिशा सार्वजनिक गरिने भएको छ ।

नेपाल पथ पार्टीको गठन मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको हो । निर्वाचन आयोगमा पार्टी दर्ता भइसकेको र आयोगमा पार्टीले ‘परिवारसहितको घर’ चुनाव चिह्न प्रस्ताव गरेको नेता कल्पितले जानकारी दिनुभएको छ ।