रोङ, ६ जेठ । इलामको रोङ गाउँपालिकामा आजदेखि विदासम्बन्धी पुरानै नियम लागू भएको छ ।
पालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले आजदेखि सातामा शनिवार मात्र विदा हुने पुरानै नियम लागू गरिएको बताउनुभयो ।
यसअघि रास्वपा नेतृत्वको नयाँ सरकार गठन भएपछि देशभरका सरकारी कार्यालयमा शनिवार र आइतवार दुई दिन सार्वजनिक विदा हुने र शुक्रवार विहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने नयाँ नियम लाग गरिएको थियो ।
पालिकाका अध्यक्ष स्याङ्बोले विदासम्बन्धी नयाँ नियम असान्दर्भिक भएको जनाउँदै नयाँ नियम लागू भएयता कुनै पनि दिन विहान १० बजेभन्दा अघि सेवाग्राही नआएको स्पष्ट पार्नुभयो ।
नयाँ सरकारले कार्यालय खुल्ने समय विहान ९ बजे तोकेको थियो । पहाडी भूबनोटका कारण सर्वसाधारणहरु १० बजेभन्दा अगाडि कार्यालयमा आइपुग्न नभ्याउने उहाँको भनाई छ ।
असार मसान्तसम्ममा गर्नु पर्ने कामहरु धेरै भएका कारण यति धेरै विदा दिन नसकिएको उहाँले बताउनुभयो । कार्यपालिकाको जेठ ४ गतेको बैठकले विदासम्बन्धी पुरानै नियम लगाउने निर्णय गरेको समेत उहाँले जानकारी दिनुभयो ।