१ भदौ २०८३, सोमवार

संकटका बेला नेतृत्व नछाड्ने ओलीको प्रष्ट सन्देश

३१ साउन २०८३, आइतवार
Image

झापा, ३१ साउन । संसदीय र पार्टी मोर्चामा संकट झेलिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पद नत्याग्ने’ प्रष्ट धारणा दोहोर्याउनु भएको छ ।

संकटमोचनका लागि पार्टी पुनर्गठन र वृहत बाम एकता गर्नु पर्ने आवाज उठाइरहेका ओलीका आलोचकहरुले ‘नेतृत्वबाट ओलीको बहिर्गमन’ संकटमोचनको प्रस्थानविन्दु हुने जिकीर गर्दै आएका छन् ।

मिसन पार्टी जागरण कार्यक्रमको आज विर्तामोडमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले आफूले पदबाट कुनै हालतमा राजीनामा नदिने अभिब्यक्ति दिनुभयो । 

शनिवार इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समेत उहाँले राजीनामा माग्ने कार्य औचित्यहीन भएको विभिन्न तर्क गर्नु भएको थियो ।

पार्टी सत्ता र शक्तिमा छँदा बढी लाभ लिनेहरु नै अहिले अझ ‘ठूलो भाग खान पाइन्छ कि भनेर पार्टीकै क्यान्टिनमा बसेर आफ्नो राजीनामा मागिरहेको’ ओलीको कटाक्ष थियो ।

उहाँले आफ्नो राजीनामा माग्नेहरुलाई ‘अघाएपछि भैसीको जिउबाट झर्ने किर्ना’को संज्ञा समेत दिनु भयो ।

पार्टीमा पुस्तान्तरण र नेतृत्व परिवर्तन जरुरी रहेको धारणा पार्टीभित्र उठ्न थालेको छ । तर ओलीले इलाम र गृहजिल्ला झापामा हिजो र आज दिनु भएको अभिब्यक्तिबाट उहाँले ‘संकटका बेला नेतृत्व नछाड्ने’ सन्देश दिनु भएको छ ।

‘अध्यक्ष मन पर्दैन’ भन्न पाइने तर सामाजिक सञ्जालबाट राजीनामा माग्ने गतिविधि पार्टी अनुशासन विपरीत भएको उहाँको भनाई छ । उहाँले एकताबद्ध भएर पार्टीमा पुनर्जागरण ल्याउनु पर्ने आह्वान गर्नु भएको छ । 

‘आफ्ना कमी कमजोरी रहेको भए’ सच्चिन र आलोचनालाई बैठकमा सुन्न तयार रहेको उहाँको भनाई थियो ।