झापा, ३१ भदौ । मेचीनगर नगरपालिकाको वडा नं. ३ तेलपानीस्थित धानबारीमा एउटा जंगली हात्ती आज विहान मृत फेला परेको छ ।
डिभिजन बन कार्यालय झापाका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ बन कार्यालयको टोली पठाइएको जानकारी दिनुभयो ।
स्थानीयबासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको यादवले बताउनुभयो । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उहाँले बताउनुभयो ।
मेचीनगरको वडा नं. २,३,४ र ५ मा लामो समयदेखि जंगली हात्तीले मानवीय तथा किसानको खेतीबालीमा ठूलो क्षति पुर्याउँदै आएको छ ।
झापामा मेची नदी पार गरेर भारतीय जंगलबाट ठूलो संख्यामा जंगली हात्ती चरणका लागि आउने गरेका छन् भने स्थानीय जंगलमा बस्दै आएका रैथाने हात्तीको संख्या पनि हालैका वर्षहरुमा बढेको छ ।
डिभिजन बन कार्यालय झापाको तथ्यांक अनुसार पछिल्लो १६ वर्षमा झापाको विभिन्न क्षेत्रमा २८ वटा जंगली हात्ती मृत भेटिएका छन् ।