झापा, १६ कात्तिक । पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तर्राष्ट्रिय नकआउट हक्की प्रतियोगिता २०८३’ को उपाधि आयोजक भद्रपुर नगर हक्की संघको टिमले जितेको छ ।
पुहाँतु जनज्योति माविको खेलमैदानमा आइतवार सम्पन्न फाइनल खेलमा भारतको आरके रोय अफ हक्की एकाडेमी भारतलाई ४–२ गोल अन्तरले अन्तरले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो ।
उपाधिसँगै भद्रपुर नगर हक्की संघले रु. दुई लाख नगद, शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता भारतको आरके रोय अफ हक्की संघलाई रु. एक लाख नगदसहित शिल्ड तथा मेडल प्रदान गरिएको छ ।
प्रतियोगितामा भारतको वैशाली हक्की टिमले तेस्रो स्थान हासिल गर्दै नगद रु. ५० हजारसहित शिल्ड प्राप्त गरेको छ । विजेता भद्रपुरले सेमिफाइनलमा वैशाली भारतलाई पराजित गरेको थियो भने उपविजेता आरके रोयले विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको थियो ।
विधागततर्फ फाइनल खेलको प्लेयर अफ द म्याच विजेता टिम भद्रपुरका रतन विनोदले र उच्च गोलकर्ताको पुरस्कार विजेता टोली भद्रपुरका सुदीप चौधरीले प्राप्त गर्नुभयो । उत्कृष्ट गोलकिपर भद्रपुरकै विष्णु घिमिरे र उत्कृष्ट डिफेन्डरको पुरस्कार उपविजेता टिम आरके रोयका मोहम्मद सिद्धिकीले पाउनु भएको थियो । फेयर प्ले टिमको पुरस्कार पोखराको टिमले जित्दै नगद रु. १५ हजारसहित ट्रफी प्राप्त गरेको थियो ।
विजेता टोलीहरुलाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । भद्रपुर नगर हक्की संघको आयोजनामा शुक्रबार सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले गर्नु भएको थियो ।
प्रतियोगितामा भारतका तीन, विभागीयसमेत नेपालका ६ टिम र आयोजक एक टिम गरी १० टिमको सहभागितामा थियो । खेल लिग कम नकआउट विधिमा खेलाइएको थियो ।