८ जेठ २०८१, मङ्गलवार

अहिले भर्खरै

मुख्यमन्त्री उद्धव थापा कायमै

२७ असार २०८०, बुधवार
Image

झापा, २७ असार ।  सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा कायमै रहने निर्णय सुनाएको छ ।

न्यायाधीश सपना मल्लको इजलासले आज उक्त निर्णय सुनाएको हो ।

तर, मुख्यमन्त्री थापा र कोशी प्रदेश सरकारले अन्तिम फैसला नआइञ्जेल दूरगामी कुनै पनि निर्णय गर्न नपाउने शर्त अदालतले राखेको छ ।

अदालतले आगामी साउन ७ गते अर्को पेशी तोकेको छ भने साउन ३ गतेभित्र आवश्यक कागजातहरु कोशी प्रदेश प्रमुखको कार्यालयबाट झिकाउने आदेश समेत दिएको छ ।

यो आदेशबाट तत्कालका लागि कोशी प्रदेश सरकार र मुख्यमन्त्री उद्धव थापाको पद जोगिएको छ । यद्यपि सरकार र मुख्यमन्त्री थापाको हैसियत कामचलाउ सरकारको जस्तो हुने भएको छ ।

सर्वोच्च अदालतले यो विषयमा ३ साउनभित्र कोशीका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

सर्वोच्चले उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न पेश भएको प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षर र नियुक्तिको सक्कल फाइल ३ साउनभित्र झिकाउन आदेश दिएको छ । त्यसपछि  ७ साउनदेखि यो मुद्दाको निरन्तर सुनुवाइ गर्नका लागि पेशी तोक्न पनि अदालत प्रशासनलाई आदेश दिएको छ ।

नेकपा एमालेको संसदीय दलका नेता हिक्मत कार्कीको मुख्यमन्त्रीत्वमा गठित सरकार विश्वासको मत नपाएर ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसको संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको थियो ।

सभामुखलाई समेत जोडेर बहुमत (४७ सांसद्)को दावी सहित थापाले मुख्यमन्त्री पदमा दावी गरेपछि प्रदेश प्रमुख खापुङले सोही आधारमा नियुक्त गर्नु भएको थियो । 

तर, सभामुखलाई सरकार गठनको गणितमा जोड्न नहुने जिकीरसहित कार्कीले थापा सरकारलाइृ वर्खास्त गर्न र आफुलाई परमादेशबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न अदालतसमक्ष माग गर्नु भएको थियो ।

सोही मुद्धाको आज अदालतले फैसला सुनाएको हो ।