कृषि
कृषि
झापा, २ साउन । एम्बुलेन्स भन्ने वित्तिकै आपतकालीन अवस्थामा बिरामी बोक्ने सवारी साधन बुझिन्छ । तर, अहिले कृषि एम्बुलेन्स पनि प्रयोगमा आउन थालेको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाले त्यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ ।
राससका अनुसार इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
इच्छाकामनाको पहाडी भेगका कृषकले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म सहज ढुवानीका लागि आर्थिक वर्ष २०७९/८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो ।
एम्बुलेन्सको लागत भ्याटसहित रु. २५ लाख ३४ हजार ९९९ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले लगानी गरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ ।
गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको छ ।