२ जेठ २०८१, बुधवार

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड

१७ साउन २०८०, बुधवार
Image

झापा, १७ साउन । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालहरुमा आँखा पाकेका विरामीको भीड बढेको स्थानीय अस्पतालहरुले जनाएका छन् ।

मेचीनगर, विर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालहरुमा आँखा पाकेर उपचारका लागि आउने विरामीको संख्या अत्याधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट संक्रमित पाइएका छन् ।

मेची आँखा अस्पताल विर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति विरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताउनुभयो । सो अस्पतालमा दैनिक एक हजार २०० बिरामी ओपीडी जाँचका लागि जाने गरेका छन् । अस्पताल धाउने आँखाका विरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उहाँले बताउनुभयो ।

विर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले संक्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखा पर्ने बताउनुभयो । उहाँले यसलाई ‘सिजनल भाइरल इन्फेक्सन’ भनिने जानकारी दिदै आँखामा कचेरा आउने, आँशु बगिरहने, घाममा हेर्न गाह्रो हुने जस्ता लक्षणहरु देखा पर्ने समेत बताउनुभयो ।

दाहालले विर्तामोड आँखा अस्पतालमा दैनिक आउने ६०० विरामीमध्ये तीन सय विरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको जानकारी दिनुभयो । गर्मी याममा यसको प्रकोप फैलिने र यसबाट सबै उमेरका मानिस संक्रमित हुने बताउनुभयो । उहाँले विशेष गरेर पछिल्लो समय स्कूल, कलेजेका विथार्थीमा यो रोगको प्रकोप बढी देखिएको बताउनुभयो ।

मेचीनगरको काँकडभिट्टामा रहेको मेची नेत्रालयमा दैनिक सयको हाराहारीमा आँखा पाकेको समस्या लिएर उपचारमा आउने गरेको नेत्र अधिकृत योगेन्द्र राउतले बताउनुभयो । ‘भाइरल फ्लू’का कारण आँखा पाक्ने रोग फैलिएको हुँदा उपचारपछि एक साताभित्रमा रोग निको हुने उहाँले जानकारी दिनुभयो ।

मेचीनगर–४ बाहुनडाँगीकी १४ वर्षीया रोशिका तामाङले सुरुमा आँखा बिझाउने र विस्तारै रातो हुने र सुन्निने समस्या देखा परेपछि काँकडभिट्टाको मेची नेत्रालयमा उपचारका लागि गएको बताउनुभयो । अस्पतालमा उपचार गराएको एक हप्तापछि अलि राम्रो हुन थालेको बताउनुभयो ।

मोवाइल, कपडा लगायतका सामानबाट एक व्यक्तिको आँखा पाक्ने रोग परिवारका सदस्य र साथीहरुमा सजिलै सर्ने चिकित्सकहरु बताउँछन् । काँकडभिट्टा आँखा अस्पताल, दिब्यज्योति आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर र बीएन्डसी हस्पिटलमा समेत आँखा पाक्ने रोगका संक्रमितहरु उपचारका लागि भीड लाग्ने गरेको पाइएको छ ।