२ जेठ २०८१, बुधवार

चतरामा पनि खुलेछन् बरमझियाका जस्तै पेडा पसल

९ माघ २०८०, मङ्गलवार
Image

चतरा, ९ माघ । पूर्वबाट काठमाडाैं जाँदा काेशी पश्चिम भारदह पार हुनासाथ बरमझियाका पेडा पसलहरूले यात्रीलाई लाेभ्याउने गरेको सबैलाई थाहा छ ।

तर, इटहरी, धरान र झुम्काबाट चतरा हुँदै उदयपुरको बाटो काठमाडौं जाने यात्रीलाई पनि अब खुशीकाे खबर छ । चतराकाे काेशी पुल पूर्व नै खुलेका पेडा पसलहरूले तपाईंलाई स्वागत गर्नेछन् ।

चतराका स्थानीयले यी पेडा पसल भर्खरै भर्खरै खुल्न थालेको बताए । "चतराकाे बाटोमा गाडीको ताँती लाग्न थालेपछि उतैबाट आएका व्यवसायीहरूले नयाँ पसल खाेलेका हुन्"-एक स्थानीयले भने ।

चतरामा खुलेका पसलको नाम पनि सप्तरीकाे बरमझियाका पसलका जस्तै छन् । बुढाे, पुरानो, सक्कली जस्ता विशेषता जनाउने शब्दहरू चतराकाे पेडा पसलकाे सूचना बाेर्डमा पनि देखिन थालेको छ ।

दुधबाट बनाइने पेडा स्वादिष्ट र पाैष्टिक मिठाइजन्य खानेकुरा हाे । बरमझिया पेडा लाेकप्रिय ब्रान्ड हाे । चतरामा मात्र नभएर देश विदेशमा यसको विस्तार हाेस् शुभकामना छ । 

तर, बरमझियामा जस्तै अनावश्यक प्रतिष्पर्धा नहाेस् चतरामा । कुन सक्कली, कुन बुढाे, कुन पुरानो र कुन असली भन्ने दुबिधा चतरामा चाहिँ नभइदिए हुन्थ्यो ।