झापा, ३१ असार । कनकाई नगरपालिकाले मुलुकमा संघीयता आएपछिको आठ वर्षभित्र ६० किलोमिटर सडकमा कालोपत्रे र २० किलोमिटरमा पेवर्स ओछ्याउने कार्य सम्पन्न गरेको छ ।
वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमार्फत पहिलोपटक जनप्रतिनिधि आउनु अघि हिउँदमा धुलाम्ये र बर्खामा हिलाम्ये हुने सडकको दुर्दशा व्यहोरेका कनकाईबासी अहिले कालोपत्रे गरिएका चिल्ला र सफा सडकमा हिँड्न पाउँदा दंग छन् ।
“सडक पूर्वाधारको विकासमार्फत कनकाईले काचुली फेरेको छ,” कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल भन्नुहुन्छ–“स्थानीय तहको पहिलो कार्यकालदेखि नै सडक निर्माणले प्राथमिकता पायो । यति धेरै सडक बनिसकेका छन् कि अब सडक निर्माण शीर्षकमा बजेट नै कम गर्नु पर्ने अवस्था आएको छ ।”
नगरपालिकाले मुख्य सडकहरुमा कालोपत्रे गर्ने र बजार क्षेत्रका साना सडकमा पेवर्स लगाउने कार्य गरेको छ । किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्याउन, नगरभित्र आवतजावत गर्न र पर्यटकीय क्षेत्रको प्रवर्धनमा सडकको स्तरोन्नतिले सहज भएको छ ।
कनकाई नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोशन सुबेदीले आफ्नो वडामा मात्रै ११ किलोमिटर सडक कालोपत्रे भएको बताउनुभयो । उहाँले कनकाईमा कालोपत्रे सडक नपुगेको कुनै वडा नभएको बताउनुभयो ।
“आँखै अगाडि भइरहेको विकास नदेख्ने केहीले देशमा केही हुन सकेको छैन भनेर निराशा छरिरहेका छन्,” वडाध्यक्ष सुबेदीले भन्नुभयो–“म विकास कसरी भएको छ भनेर हेर्न कनकाई आउन आग्रह गर्छु । यहाँका कुनै पनि घर जाँदा हिलो र धुलो टेक्नु पर्दैन । बर्खामा हिँड्दा पानीले भिज्ला कि भनेर पेन्ट सुर्किनु पर्दैन ।”
स्थानीय तहको सरकार गठन हुनुभन्दा अघि कनकाईबासीले कालोपत्रे हेर्न पूर्वपश्चिम राजमार्ग पुग्नु परेको स्मरण गराउँदै उहाँले गाउँ गाउँमा कालोपत्रे सडकसँगै सिंहदरवार पुगेको अनुभूति जनताले गरिरहेको बताउनुभयो ।
नगरकी योजना शाखा प्रमुख जमुना कटुवालले प्रदेश र संघको समपूरक बजेटलाई सडक पूर्वाधार निर्माणमा लगानी गरिदै आएको बताउनुभयो । उहाँका अनुसार कालोपत्रे गरिएको सडकको गुणस्तरमा कमी हुन नदिन निरन्तर अनुगमन र डिजिटल मेसिनको प्रयोग भइरहेको छ ।
भूगोलका आधारमा जिल्लाकै सबैभन्दा सानो नगरपालिका कनकाईको अमरपथ, लक्ष्मीमार्ग, पञ्चायत मार्ग, जनपथ, भृकुटी र लक्ष्मीपुर–घैलाडुब्बा सडक मुख्य सडक मानिन्छन् । अधिकांश प्रमुख सडकमा कालोपत्रे भइसकेको छ ।
पछिल्लो जनगणना अनुसार कनकाईको जनसंख्या ५३ हजार रहेको छ । यहाँका नौ वटै वडाका अधिकांश बासिन्दा नगरपालिकाले सडक निर्माणमा प्राप्त गरेको सफलतामा प्रफुल्ल छन् ।
नगर प्रमुख पोखरेल सडक निर्माणमा अपेक्षित सफलता मिलिसकेको जनाउँदै नगरको अबको प्राथमिकता भनेको कृषि, शिक्षा र स्वास्थ्य रहेको बताउनुहुन्छ ।
कनकाई वडा नं. ३ सुरुंगामा पालिकाले रु. चार करोड ५० लाख २९ हजार ११२ को लागतमा आधुनिक कृषि बजार भवन निर्माण गरिरहेको छ । यस कृषि भवनमा दुई तला र ६६ कोठा रहने भएको छ ।
नगरले कृषिसँगै स्वास्थ्य क्षेत्रमा पनि ठूलो बजेट लगानी गर्दै आएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेका अनुसार १५ शैयाको कनकाई नगर अस्पताल हाल निर्माणाधीन छ । वि.सं. २०८३ जेठ १५ गतेभित्र निर्माण सम्पन्न हुने बताइएको यस भवनको लागत रु. पाँच करोड ६५ लाख १९ हजार ५३८ रहेको छ ।
कनकाई नगरपालिका नेपालको पहिलो विद्युत चुहावटमुक्त, बन्द निषेधित र सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र हो । नगरमा कनकाई कोटीहोम, धनुषकोटी धाम, जामुनखाडी सिमसार, हेप्पील्यान्ड लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन् ।