झापा, १२ मङ्सिर । कोशी प्रदेशमा चालु आर्थिक बर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैंङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले साउनदेखि कात्तिकसम्ममा मुद्धा दर्ता भएकामध्ये २१४ फस्र्यौट भइसकेको जानकारी दिनुभयो ।
उहाँले सो अवधिमा सबैभन्दा बढी जबरजस्ती करणीका १७८वटा मुद्दा दर्ता भएको बताउनुभयो । बहुविवाहमा ३६ वटा, करणी उद्योगमा २७ वटा, बालयौन दुराचारका ३६ वटा, अबैध गर्भपतनका दुई वटा, बोक्सी आरोपका एउटा, जातीय छुवाछुतका एउटा, मानव बेचविखन तथा ओसारपसारमा दुई र अप्राकृतिक मैथुनमा एउटा मुद्धा प्रदेश प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
यसअघि लैङ्गिक हिंसाका वर्षेनी आठ सयभन्दा बढीको संख्यामा प्रदेशमा मुद्धा दर्ता हुँदै आएका छन् । आव २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालयमा ८३१ वटा मुद्धा दर्ता भएका थिए । सो अवधिमा ६९६ वटा मुद्धा फस्र्यौट भएका थिए ।
आव २०८०/८१ मा ८८४ वटा मुद्धा दर्ता भएकोमा ७८४ वटा फस्र्यौट भएका थिए । बिगतका दुबै वर्षमा सबैभन्दा बढी जबरजस्ती करणी, करणी उद्योग र बहुविवाहका मुद्धा प्रहरीमा दर्ता भएका छन् ।