१७ मंसिर २०८२, मङ्गलवार

कारागारबाट भागेर लुकेका कैदीहरु धमाधम घरबाट पक्राउ

१६ मंसिर २०८२, सोमवार
Image

झापा, १६ मङ्सिर । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेर घरमा लुकेका कैदी बन्दीहरु झापामा पक्राउ परिरहेका छन् ।

केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका जाली नोट कारोवारी मुद्धाका कैदी ३० वर्षीय ऐराजुल हक आइतवार झापामा पक्राउ परेका छन् ।

झापा गाउँपालिका वडा नं. ४ स्थित घरमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले हकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । गत भदौ २४ गते अभियुक्त हक केन्द्रीय कारागारबाट भागेका थिए । 

यसैगरी, सुनसरीको झुम्का कारागारबाट फरार भएका कत्र्तब्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका ४५ वर्षीय डम्बरबहादुर मगर दुई दिनअघि शिवसताक्षी–११ शेर्माटोलस्थित आफ्नै निवासमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मगर जेनजी आन्दोलनकै बेला गत भदौ २४ गते झुम्का कारागारबाट भागेका थिए । नियन्त्रणमा लिएका ऐराजुल हकलाई केन्द्रीय कारागार र डम्बरबहादुर मगरलाई झुम्का कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

झुम्का कारागारबाट जेनजी आन्दोलनमा फरार भएका मेचीनगर–६ का ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरीलाई प्रहरीले काँकरभिट्टामा पक्राउ गरेको छ ।

राजस्व छली मुद्धामा कैद भुक्तान गरिरहेका दुबैजना जेनजी आन्दोलन क्रममा फरार भएका थिए । दुबैलाई सम्बन्धिथ कारागारमा पठाइने प्रवक्ता खड्काले जानकारी दिनुभयो ।