२ साउन २०८२, बिहिवार

अपाङ्गता भएका वालवालिकाको भरणपोषणका लागि सहयोगको याचना

१ साउन २०८२, बुधवार
Image

झापा, ३२ असार । मेचीनगरको ‘समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति’ले संस्थामा आश्रित अपाङ्गता भएका वालवालिकाहरुको भरणपोषण र शिक्षाका लागि आर्थिक संकट भएको जनाएको छ ।

समितिले दुई दशकदेखि १६ जना अपांगता भएका अनाथ वालवालिकालाई मेचीनगर–७ इटाभट्टामा आवाससहित पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । संस्थामा झापा, उदयपुर, ताप्लेजुङ र सुनसरी जिल्लाबाट आएका १० जना वालक र ६ जना वालिका रहेका छन् ।

“संस्थाको दीगो नियमित आयश्रोत केही छैन,” समितिका अध्यक्ष धर्मराज घिमिरेले संस्थामा आर्थिक संकट चुलिएको बताउँदै भन्नुभयो–“आश्रय लिइरहेका बालवालिकाहरुको भरणपोषणको खर्च धान्न समस्या भइरहेको छ ।”

वि.संं. २०६० सालमा स्थापना भएको संस्थाले विभिन्न दातृ संस्थाको सहयोगमा मेचीनगर–७ मा अपाङ्गता भएका बालवालिकाहरुलाई आश्रय दिनका लागि पाँच कठ्ठा जग्गामा तीन तले भवन निर्माण गरेको थियो । बिगतदेखि नै दाताबाट प्राप्त हुने सहयोगबाटै आश्रित वालवालिकाको खानपिन, आवास, लत्ताकपडा र शिक्षादीक्षाको प्रबन्ध हुँदै आएको घिमिरेले बताउनुभयो ।

बुबा–आमा नभएका र अपांगता भएर विचल्लीमा परेका ती वालवालिकाहरु कोहि पनि प्रष्ट बोल्न सक्ने अवस्थाका छैनन् । उनीहरुको स्याहार, खानपान र रेखदेखका लागि एक महिला कर्मचारीलाई खटाइएको छ । 

संस्थाका उपाध्यक्ष गंगाप्रसाद संग्रौलाले सात जना वालवालिकालाई स्थानीय सरस्वती आधारभूत विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको र बाँकी नौ जनालाई संस्थाको भवनमा नै पढाउनका लागि एक जना शिक्षक नियुक्ति गरिएको बताउनुभयो ।

वालवालिकाको सेवामा खटिएका दुबै कर्मचारीको पारिश्रमिक संस्थाले व्यहोर्दै आएको छ । मेचीनगर नगरपालिकाले वालवालिकाको पालनपोषण, कर्मचारीको पारिश्रमिक र संस्थाको व्यवस्थापनका लागि वार्षिक रु. पाँच लाख अनुदान बजेट दिदै आएको छ ।

“मेचीनगर नगरपालिका र दाताको सामान्य सहयोगले मात्र खर्च धान्नसक्ने अवस्था छैन,” अध्यक्ष घिमिरेले भन्नुभयो– “संस्था चलाउन अबचाहिँ समस्या भयो । संस्थाका पदाधिकारीहरुले गोजीबाट समेत खर्च गर्नु परिरहेको छ ।”

संस्थालाई सहज रुपमा सञ्चालन गर्न वार्षिक रुपमा न्यूनतम् रु. १० लाखको स्रोत सुनिश्चित हुनुपर्नेमा हाल मेचीनगर नगरपालिका बाहेक अन्य कुनै पनि सरकारी र दातृ निकायबाट सहयोग नरहेको उहाँले बताउनुभयो । 

“जन्मदिन र वैवाहिक वार्षिक उत्सवको अवसर पारेर सहयोगी मनहरु कहिलेकाहिँ आउने गर्नुहुन्छ,” उहाँ भन्नुहुन्छ– “सामाजिक संस्थाहरु खाद्यान्न, कपडा र नगद सहयोग बोकेर आउने गर्नुहुन्छ । यसबाट संस्था सञ्चालनमा भरथेग भए तापनि आर्थिक संकटको दीगो समाधान चाहिँ हुँदैन ।”