२२ माघ २०८२, बुधवार

इण्डो नेपाल टी–२ च्यापिम्यनसीपः उद्घाटन खेलमा आसाम विजय

२२ माघ २०८२, बुधवार
Image

झापा, २१ माघ । पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२ क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुआत गरेको छ । 

आसामले जीएचसीए काठमाडौँलाई ४२ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ गर्दै आसामले १८.१ ओभरमा अलआउट हुँदै ९६ रन बनायो । जवाफमा काठमाडौँ १६.२ ओभारमा ५४ रनमा अलआउट भएपछि आसामले महत्वपूर्ण ३ अंक जोडेको थियो । 

आसामका तर्फबाट मोहमद हबिबुल्लाले सर्वाधिक १९ रन बनाए भने काठमाडौँका तर्फबाट रुपेश श्रीवास्तवले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी, काठमाडौँका तर्फबाट सर्वाधिक १४ रन बनाए भने आसामका तर्फबाट प्राञ्जल भरालीले ४ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए ।

प्रतियोगिताको एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उहाँले खेलकुद क्षेत्रलाई अघि बढाउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मेची क्याम्पसको क्रिकेट मैदानलाई थप विकसित गर्न प्रदेश सरकारले लगानी गर्ने बताउनुभयो । 

भद्रपुर क्रिकेट क्लवका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।

प्रतियोगितामा नेपालका चार र भारतका चार गरी आठवटा टिमको सहभागिता रहेको छ । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । अंकका आधारमा सेमिफाइनल खेल्ने टिमको टुंगो लाग्ने आयोजक भद्रपुर क्रिकेट क्लवका महासचिव वसन्त पोखरेलले जानकारी दिनुभयो । प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले रु.पाँच लाख नगदसहित शील्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु.तीन लाखसहित शील्ड प्राप्त गर्ने पोखरेलले बताउनुभयो । 

प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लव, काठमाडौं, सुदूरपश्चिम र गण्डकी तथा भारतका तर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किमको सहभागिता रहेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । 

बिहीबार दुईवटा खेल हुनेछ । पहिलो खेलमा भारतको दिल्लीले आजको विजेता आसामसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लवले जीएचसीए काठमाडौँको सामना गर्नेछ ।