१२ वैशाख २०८३, शनिवार

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा २५ वटा पुल बन्यो

१२ वैशाख २०८३, शनिवार
Image

झापा, १२ बैशाख । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग अन्तर्गत पूर्वी खण्डमा पुल निर्माण कार्यले गति लिएको छ । 

झापा, मोरङ र सुनसरी खण्डमा पर्ने ३७ वटा पुलमध्ये हालसम्म २५ वटाको निर्माण कार्य सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर रमेशकुमार दत्तका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्मको १३१ किलोमिटर सडकमा ती पुलहरू बनिरहेका हुन् ।

निर्माण सम्पन्न भएका पुलहरूको लम्बाई २० मिटरदेखि ३०० मिटरसम्म रहेको छ । निर्माण कार्यमा केही ढिलाइ हुनुको मुख्य कारण वन क्षेत्रको अवरोध रहेको उहाँले बताउनुभयो । पुल निर्माण हुने कतिपय क्षेत्रहरू वन क्षेत्रमा पर्ने र रुख कटानको अनुमति पाउन समय लागेका कारण केही पुलहरू अझै अधुरो रहेको सूचना अधिकारी दत्तले जानकारी दिनुभयो ।

पुलहरूको कुल लागत रु. छ अर्ब १२ करोड ६२ लाख ५४ हजार रहेको छ भने सडक निर्माणको लागत  रु. १० अर्ब १३ करोड रहेको जनाइएको छ ।

झापा जिल्लामा पाँच वटा पुलको निर्माण सम्पन्न भएको छ । जसमा ढोंग्रे खोला, खार खोला, दामा खोला, हँडिया खोला र गगटे खोलाका पुलहरू रहेका छन् । झापा र इलामको सिमानामा पर्ने २२० मिटर लामो बिरिङ खोलाको पुल पनि निर्माण भइसकेको छ ।

मोरङ जिल्लामा सात वटा पुलको निर्माण कार्य सकिएको छ । यसमा धानखेती, खहरे, डाले, मुगु खोला, खुदुम, मोरांगी, तेली र नुसरी खोलाका पुलहरू रहेका छन् ।

इलाम क्षेत्रमा सबैभन्दा धेरै १३ वटा पुलहरूको निर्माण सम्पन्न भएको छ । जसमा सुखानी शहादतस्थल, बुढी खोला, सुखानी खोला, टाङटिङ, गोयाङ, सानोनेते, ठूलोनेते, रतुवा, बुकुवा सानो, बुकुवा ठूलो, बिधुवा खोला, चाँजु खोला र बागद्वार खोलाका पुलहरू सञ्चालनका लागि तयार भएका छन् ।

पुल निर्माणको काम बाँकी रहेका १२ वटा स्थानहरूमध्ये मोरङमा ८ वटा र सुनसरीमा ४ वटा रहेका छन् । मोरङको सोल्टी १, सोल्टी २, मिखि खोला, बालुवा खोला, सानो नेते, तुर्की खोला, हचुवा र साउने खोलामा पुल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

सुनसरी जिल्लाका चार वटा पुलहरू रेल्वे रिभर, ठकुरी खोला, बाघ खोला र बगुवा खोलाको निर्माण कार्य सम्पन्न हुन बाँकी छ । पुलहरूको निर्माणले पूर्वी नेपालको यातायात र आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।