मेची उद्योग वाणिज्य संघ
मेची उद्योग वाणिज्य संघ
धुलाबारी, १७ बैशाख । मेची उद्योग वाणिज्य संघको आसन्न चुनावमा अध्यक्ष पदका आकांक्षी भूमि पौडेलले अर्का आकांक्षी कपिल क्षेत्री (किशोर)लाई समर्थन जनाएको बताउनु भएको छ ।
यही बैशाख २६ गते संघको नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । चुनावमा अध्यक्ष पदका लागि उम्मेद्वार बन्ने भनेर पौडेलले घोषणा गर्नु भएको थियो ।
तर, सबैलाई मिलाएर लैजाने सहमति पश्चात आफुले अध्यक्ष पदको दावी परित्याग गरेर क्षेत्रीलाई समर्थन जनाएको पौडेलले बताउनुभयो ।
संघको चुनावमा परोक्ष रुपमा राजनीतिक दलहरुको समर्थन रहने गरेको छ । अध्यक्ष पदका दुबै दावेदार क्षेत्री र पौडेल नेपाली कांग्रेस निकट हुनुहुन्छ ।
पार्टीले दुबैलाई ‘भिडेर होइन, मिलेर जान’ आग्रह गर्दै अध्यक्ष पदमा क्षेत्रीलाई उम्मेद्वार बनाउने सिफारिस गरेको थियो ।
“उहाँ (कपिल क्षेत्री)ले यसपाली समर्थन गर्न भनेर धेरै आग्रह गर्नु भयो,” पौडेलले भन्नुभयो– “हामी सबैको उद्देश्य आम व्यवसायीको हित गर्नु नै हो । त्यसैकारण मैले उहाँलाई समर्थन गरेको हुँ ।”
अध्यक्ष पदको दावी त्याग्नु भएको पौडेलले अब वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने बताउनु भएको छ । “हामीबीच त्यस्तै सहमति बनेको छ,” उहाँले भन्नुभयो– “टिम मिलाउने क्रममा मैले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वार दिनेछु ।”
कांग्रेसको समर्थनमा बन्ने प्यानलमा वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार बन्ने घोषणा गरिसक्नु भएको ध्रुव कनाललाई अब महासचिव पदको उम्मेद्वार बनाइने बुझिएको छ ।