मेची उद्योग वाणिज्य संघ
मेची उद्योग वाणिज्य संघ
धुलावारी, १९ बैशाख । मेची उद्योग वाणिज्य संघमा दोहोरिने चाहना राख्नु भएको अध्यक्ष खेमराज प्रसाईले नतिजा निकाल्ने रणनीतिका साथ ‘फराकिलो गठबन्धन’ सार्वजनिक गर्नु भएको छ ।
शुक्रवार प्रसाईले पत्रकार सम्मेलनमार्फत घोषणा गरेको गठबन्धनका उम्मेद्वारमा चर्चित व्यवसायीहरु आनन्द खड्का, उषा श्रेष्ठ, भीमबहादुर कुँवर, सचिन निरौला, ललित अग्रवाल, चन्द्र घोर्साइ लगायतको नाम सामेल छ ।
नेकपा एमाले निकट व्यवसायीको रुपमा चिनिनु भएको प्रसाईले आफ्नो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट भनेर परिचित व्यवसायीहरुलाई समेत आश्चर्यजनक ढंगले समेट्नु भएकोमा राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
प्रसाईले आफ्नो गठबन्धनबाट उम्मेद्वार बनेकाहरुलाई ‘व्यवसायीहरूको स्वतन्त्र र साझा उम्मेद्वार’ भन्नु भएको छ । यो गठबन्धनमा अध्यक्ष पदको उम्मेद्वार स्वयम् खेमराज प्रसाईं हुनुहुन्छ भने बरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, महिला उपाध्यक्षमा उषा श्रेष्ठ र उद्योग उपाध्यक्षमा भीमबहादुर कुँवर रहनु भएको छ ।
प्रसाईको गठबन्धनबाट बाणिज्य उपाध्यक्षमा नरबहादुर थापा (तिलक) र महासचिवमा दिनेश शाक्य उम्मेद्वार बन्नु भएको छ । सदस्य पदमा दिनेश पोखरेल, मानकुमार कटुवाल, सुरज चौधरी, सचिन निरौला, ललित अग्रवाल, मीरा कार्की, विजय गुप्ता, रमा आचार्य वस्नेत, फिरोज बराल र चन्द्र घोर्साई उम्मेदवार हुनुहुन्छ ।
महासचिवका उम्मेदवार दिनेश शाक्यले ‘व्यवसायीहरूको साझा गठबन्धन’मा दलीय हस्तक्षेप नरहेको र सबैजसो राजनीतिक दलमा आस्था राख्ने व्यवसायीहरु अटाउनु भएको बताउनुभयो ।
“व्यवसायीको हक, हित र सुरक्षाका लागि हामी सबै एकजुट भएर लागेका हौं,” उहाँले भन्नुभयो– “संघलाई सबै आस्था र क्षेत्रका व्यवसायीहरुको साझा थलोको रुपमा अघि बढाउनुपर्छ भनेर आम व्यवसायी साथीहरुको सुझाव आएको हुँदा फराकिलो सोचका साथ वृहत गठबन्धन बनाएका छौं ।”
नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा लगायत दलका व्यवसायीहरू आफ्नो गठबन्धनमा समेटिएको प्रसाई नेतृत्वको गठबन्धनको दावी छ । संघको चुनाव यही वैशाख २६ गते हुँदैछ ।
(तस्वीर : एआईद्वारा निर्मित )