२२ वैशाख २०८३, मङ्गलवार

महासंघको साधारणसभामा तीन पत्रकार र भद्रपुर प्रेस क्लव सम्मानित

२१ वैशाख २०८३, सोमवार
Image

विर्तामोड, २१ बैशाख । नेपाल पत्रकार महासंघ झापा झापाले तीन पत्रकार र एउटा प्रेस क्लवलाई आज सम्मान गरेको छ ।

शाखाको वार्षिक साधारणसभाको उद्घाटन समारोहमा पत्रकार गृष्मा सापकोटा, नेत्रविक्रम बिमली र रञ्जित परियारलाई सम्मानित गरिएको हो भने भद्रपुर प्रेस क्लवलाई सम्मान गरेको हो ।

पत्रकारितासँगै सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा १२१ औं पटक रक्तदान गरेवापत ग्रामीण प्रेस क्लवका अध्यक्ष एवम् हल्दिबारी अनलाइनका सम्पादक बिमलीलाई सम्मानित गरिएको हो ।

यसैगरी, तीन कार्यकाल शाखाको कार्यसमितिमा रहनु भएको अर्जुनधाराका रञ्जित परियारलाई समेत समारोहमा सम्मानित गरिएको थियो । पत्रकारितासँगै शिक्षण पेशामा क्रियाशील उहाँ हाल जुनकिरी आधारभूत विद्यालयमा प्रधानाध्यापक हुनुहुन्छ ।

उत्कृष्ट कार्य गरेवापत भद्रपुर प्रेस क्लव सम्मानित भएको छ । क्लवका तर्फबाट अध्यक्ष राजबाबु शंकरले सम्मान पत्र ग्रहण गर्नु भएको थियो ।

दमकस्थित हिमशिखर टेलिभिजनमा कार्यरत पत्रकार गृष्मा सापकोटालाई रु. २५ हजार नगदराशीको लैंगिक समानता पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य र झापा शाखा अध्यक्ष एकराज गिरीले सम्मानित पत्रकारहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा शाखाले प्रकाशित गरेको चौथो अंग नामक म्यागेजिनको विमोचन गरिएको थियो । शाखा अध्यक्ष गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत र उपाध्यक्ष बिनिशा शर्माले धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो । उद्घाटन समारोहको सञ्चालन सचिव राजु पाठकले गर्नु  भएको  थियो ।

समारोहलाई महासंघका कार्यवाहक अध्यक्ष आचार्य, पूर्व महासचिव चन्द्र भण्डारी, कोशी प्रदेश अध्यक्ष भरत खड्का, मोरङ शाखाकी अध्यक्ष सुशिला पाठक, प्रजिअ शिवराम गेलाल, झापा शाखाका पूर्व सभापति कृष्ण हुमागाई, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, प्रेस सेन्टर नेपालका झापा अध्यक्ष पुष्प खड्का, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

आजै भएको साधारणसभाको बन्द सत्रमा सचिव राजु पाठकको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मुक्ति पौडेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।

महासंघका कोशी प्रदेश समितिका उपाध्यक्ष कुमुदचन्द्र अधिकारीको अध्यक्षतमा रहेको अध्यक्षमण्डलले बन्द सत्र सञ्चालन गरेको थियो । सो अवसरमा उपाध्यक्ष अधिकारी र कोशी प्रदेश समितिका संस्थापक अध्यक्ष विक्रम लुइँटेलले मन्तब्य राख्नु भएको थियो । (सबै फोटो : शब्द दृश्य)