२४ वैशाख २०८३, बिहिवार

स्वास्थ्य

एउटै अस्पतालमा मेचीनगरका ८५ बिरामीको मिर्गौला डाइलासिस

२४ वैशाख २०८३, बिहिवार
Image

झापा, २४ बैशाख । सुदूरपूर्वको मेचीनगर नगरपालिकामा डाइलासिसक उपचार गराइरहेका मिर्गौलाका बिरामीको संख्या जिल्लाको अन्य पालिकाको तुलनामा अत्याधिक पाइएको छ ।

मिर्गौलाका बिरामीको डाइलासिस उपचारका लागि सबैभन्दा धेरै शैया उपलब्ध गराउँदै आएको भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हाल डाइलासिस गराइरहेका विरामी २२१ जना रहेका छन् । जसमध्ये डाइलासिस गराउने मेचीनगरका विरामीको संख्या ८५ छ । मिर्गौला प्रत्यारोपण गराएका ६९ जनालाई मेचीनगर नगरपालिकाले मासिक रु. पाँच हजारका दरले निर्वाह भत्ता समेत दिइरहेको छ ।  

अस्पतालका व्यवस्थापक मनोज दाहालका अनुसार हाल अस्पतालमा भद्रपुर नगरपालिकाका २७ जना, विर्तामोड नगरपालिकाका १८ जना, बुद्धशान्ति गाउँपालिकाका १५ जना, अर्जुनधारा नगरपालिकाका १० जना, बाह्रदशी गाउँपालिकाका नौ जना, कनकाई नगरपालिकाका आठ जना, कचनकबल गाउँपालिकाका आठ जना, हल्दिबारी गाउँपालिकाका छ जना र कमल गाउँपालिकाका तीन जनाले नियमित डाइलासिस सेवा लिइरहेका छन् ।

छिमेकी जिल्ला इलामका २२ जना, ताप्लेजुङका चार जना, पाँचथरका तीन जना, तेह्रथुमका दुई जना र सुनसरीका एक जनाले समेत अस्पतालबाट डाइलासिस सेवा लिइरहेका छन् ।

अस्पतालमा डाइलासिस सेवा निःशुल्क रहेको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल साइरामले बताउनुभयो । उहाँका अनुसार हाल २४ शैयामा २४ वटा मेसिन राखेर विरामीको डाइलासिस सेवा प्रदान गरिरहेको र निकट भविष्यमा शैया र मेसिन थपेर ५० पुर्याउने अस्पतालको लक्ष्य रहेको छ ।

मिर्गौलाले रगत प्रशोधन कार्य गर्न असक्षम भएपछि मेसिनको सहायताले रक्तको शुद्धीकरण गरिन्छ, जसलाई डाइलासिस भन्ने गरिन्छ । झापामा छ वटा अस्पतालमा मिर्गौलाको डाइलासिस सेवा उपलब्ध छ । सबैभन्दा धेरै शैया र मेसिन भने ओमसाई पाथीभरा अस्पतालमा रहेको छ ।

निःशुल्क डाइलासिस सेवा लिनका लागि चिकित्सक र स्थानीय पालिकाबाट सिफारिस ल्याउनु पर्ने प्रावधान रहेको प्रबन्ध निर्देशक पोखरेलले बताउनुभयो । उहाँले निःशुल्क सेवा लिन नेपाली नागरिकता र स्वास्थ्य बिमा बोर्डको कार्ड समेत पेश गर्नुपर्ने जानकारी दिनुभयो । अस्पतालमा नियमित डाइलासिस गराइरहेका बिरामीहरुमा पुरुष १३९ र महिला ८२ जना रहेका छन् ।