२६ वैशाख २०८३, शनिवार

विपद् पूर्वानुमान

झापामा बाढीले प्रभावित पार्नसक्ने नौ हजार परिवारको पहिचान

२६ वैशाख २०८३, शनिवार
Image

(यो चित्र एआईद्वारा निर्मित हो ।)

झापा, २६ बैशाख । नेपाल रेडक्रस सोसाइटी झापाले यसपालीको मनसुनमा जिल्लाका नदीहरुमा आउनसक्ने बाढीजन्य विपद्बाट आठ हजार ९१५ परिवार प्रभावित हुनसक्ने पूर्वानुमान गरेको छ ।

सोसाइटीले मौसम पूर्वानुमान र बाढीको प्रकोपबाट बिगतमा प्रभावित भूभागहरुको अध्ययन र विश्लेषण गरेर हरेक वर्ष ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ सार्वजनिक गर्दै आएको छ ।

विं.सं. २०८३ को मनसुनमा जिल्लाका १४ पालिकाका ११ वटा नदीमा आउन सक्ने बाढी र त्यसबाट विपद्बाट प्रभावित हुनसक्ने परिवारको तथ्यांक प्रक्षेपण गरिएको नेरेसो झापा शाखाका अधिकृत हरिशरण खड्काले बताउनुभयो ।

‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’मा उल्लेख भए अनुसार नदीहरुमध्ये कनकाईबाट दुई हजार २४९ परिवार, मेचीबाट एक हजार ९० परिवार, बिरिङबाट दुई हजार ११५ परिवार, रतुवाबाट एक हजार ३३० परिवार, निन्दाबाट १५० परिवार, कमल र बनियानीबाट एक हजार १५ परिवार, हडियाबाट १७५ परिवार, देवनियाबाट ४४५ परिवार र टाङटिङ तथा नेतेबाट ३५० परिवार प्रभावित हुने प्रक्षेपण गरिएको खड्काले जानकारी दिनुभयो ।

झापामा हरेक वर्षायाममा सबैभन्दा बढी क्षति कनकाई र बिरिङ नदीमा आउने बाढीले पुर्याउने गरेको छ । कनकाई नदीले झापा गाउँपालिकाको वडा नं. १,२,३ र ७ मा, गौरीगञ्ज गाउँपालिकाको वडा नं. १ र २ मा, शिवसताक्षी नगरपालिकाको वडा नं. ४,५,६,७ र १० मा र कनकाई नगरपालिकाको वडा नं. ४ मा दुई २४९ घरधुरीलाई प्रभावित पार्नसक्ने उक्त प्रतिकार्य योजनामा उल्लेख छ ।

यसैगरी, बिरिङ नदीले कनकाई नगरपालिकाको वडा नं. ६,६ र ९ मा, बाह्रदशी गाउँपालिकाको वडा नं. १,२,३,४,५ र ७ मा, कचनकबल गाउँपालिकाको वडा नं. १ मा, झापा गाउँपालिकाको वडा नं. ४,५ र ७ मा, अर्जुनधारा नगरपालिकाको वडा नं. १,४,७ र ८ मा र बुद्धशान्ति गाउँपालिकाको वडा नं. २ मा गरी कूल दुई हजार २१५ घरधुरी परिवारलाई यसपालीको वर्षायाममा प्रभावित पार्नसक्ने अनुमान गरिएको छ ।  

सोसाइटीले मनसुनबाट निम्तिने विपद्बाट प्रभावितहरुको उद्धार, आश्रयस्थल र राहत वितरणको समेत पूर्वतयारी गर्दै आएको छ । प्रतिकार्य योजना अनुसार जिल्लाका मुख्य नदीनालाहरुबाट प्रभावित हुनसक्ने स्थानहरु र आश्रय स्थलहरुको विवरण तयार पारेर सोही बमोजिम पूर्वतयारी गरिएको शाखा अधिकृत खड्काले बताउनुभयो ।

उहाँका अनुसार झापाको १४ पालिकाको ११२ सुरक्षित स्थानलाई विपद्का बेला प्रभावित परिवारलाई राख्ने आश्रयस्थल तोकिएको छ । अधिकांश आश्रयस्थल विद्यालय, सामुदायिक भवन र स्थानीय तहका संरचनाहरुमा रहेका छन् ।