२७ वैशाख २०८३, आइतवार

रातैपिच्छे आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ वैशाख २०८३, आइतवार
Image

झापा, २७ बैशाख ।  भारतबाट हात्तीको बथान आएर रातैपिच्छे पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगी लगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । 

मेचीनगर नगरपालिकाको वडा नं. १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने ३० देखि ४० को संख्याका हात्तीको बथानले किसानको मकै, सुपारी लगायतका बालीमा क्षति पुर्याउने गरेका छन् ।

प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयबासीलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, बन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नंं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

उहाँले एक सातायता भारतको आसामबाट आएका लगभग एक सयको संख्यामा रहेका हात्तीको बथान दिनभर सीमापारिको जंगलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलग्गिएर ३० देखि ४० को संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको जानकारी दिनुभयो ।

हात्तीको बथान नेपाल प्रवेश गर्न नदिने उपाय खोज्न हालै सर्वपक्षीय बैठक आयोजना गरिएको थियो । सर्वपक्षीय बैठकले भारतीय बन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्ने, साँझ ६ बजेपछि हात्ती हेर्ने निहुँमा प्रवेश नाकाहरुमा सर्वसाधारणलाई जान रोक लगाउने, प्रभावित क्षेत्रका आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्याक्टर परिचालन गर्ने, ट्याक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने, रातको समयमा हिँडडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्ने लगायतका निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाहुनडाँगीको सीमावर्ती तीन वटा वडामा लगाइएको १८ किलोमिटर लामो सौर्य तारबारको आवश्यक मर्मतसम्भारका लागि प्रक्रिया अघि बढिरहेको बताउनुभयो ।

एक दशक अघि जडान गरिएको उक्त विद्युतीय तारबारमा प्रयोग भएका अधिकांश ब्याट्री फेर्नुपर्ने अवस्था रहेको हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन बन कार्यालय र मेचीनगर नगरपालिकाको रु. ३० लाख बजेटमा सीमाको सौर्य तारबार मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका पूर्व अध्यक्ष निरज घिमिरे नेपालमा बाली पाक्ने बेलामा भारतबाट सयौंको हुलमा भित्रिने हात्तीका कारण वर्षेनी जनधनको क्षति दोहोरिने गरेको बताउनुहुन्छ । उहाँले भारत सरकारको सम्बद्ध निकायसँग उच्चस्तरीय वार्ता गरेर हात्तीको बथान रोकिनु पर्ने माग गर्नुभएको छ ।

यसपाली आएका हात्तीले पाक्न लागेको मकैबाली खाएर सखाप गरेको र सुपारीको बोट भाँचेर सोत्तर पारेको छ । केही महिनाभित्रै हात्तीले बाहुनडाँगीमा तीन जनालाई आक्रमण गरेर घाइते बनाएको र १५ वटा घरमा क्षति पुर्याएको स्थानीय गोपी रिजालले बताउनुभयो । उहाँले सीमा क्षेत्रमा जडान गरिएको सौर्य तारबारको व्याट्री चोरी भएकाले नयाँ व्याट्री फेर्नुपर्ने माग गर्नुभयो ।