झापा, २७ बैशाख । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने क्रममा विर्तामोडको ऐतिहासिक मुक्तिचोकमा रहेको स्तम्भ भत्काइएपछि सामाजिक सञ्जालमा नेतादेखि सर्वसाधारणसम्म भावुक बनिरहेका छन् ।
२०४६ सालको जनान्दोलन सफल भएकै दिन चैत २६ गते विर्तामोडमा प्रजातन्त्र समर्थकहरुको ठूलो भेलालाई विर्तामोडको चौबाटो (आईल्यान्ड)मा उभिएर सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता एवम् राजनीतिक योद्धा लीला उदासीले भन्नुभएको थियो– “साथीहरु, यो मुक्तिचोक हो ।”
त्यही दिनदेखि विर्तामोडको मुख्य चोकलाई मुक्तिचोक भन्न थालिएको थियो । पछि दोस्रो जनान्दोलन २०६२÷६३ को सफलतापछि यो चोकमा एकजना महिला र एक जना पुरुषको प्रतीक रहेको ‘मुक्ति स्तम्भ’ राखियो ।
‘मुक्ति स्तम्भ’ एउटा साधारण सालिक थियो । जहाँ कुनै राजनीतिक झण्डा र नेताको अनुहार थिएन । त्यसैकारण यसलाई जनान्दोलनको विम्ब मानियो । सबैको साझा ठानियो । राष्ट्रिय सभा सदस्य एवम् राजनीतिक योद्धा गोपालकुमार बस्नेतको संयोजकत्वमा गठन भएको साझा संयन्त्रले ‘मुक्ति स्तम्भ’ राख्ने कार्य सम्पन्न गरेको थियो ।
यो स्तम्भ एउटा मूर्ति मात्र थिएन, यसमा जनान्दोलनको भावना गाँसिएको थियो । सहिदको बलिदान र जनताले प्राप्त गरेको लोकतन्त्रको भावना जोडिएको सालिक थियो । स्तम्भ एउटा यस्तो स्थान बन्यो, जहाँ जुनसुकै आन्दोलनकारीले पनि आफ्ना कार्यक्रमहरु यही स्तम्भमुनि आयोजना गर्दथे । भाषणहरु गर्दथे । विरोध र समर्थनहरु यही सालिकलाई साक्षी राखेर गरिन्थ्यो ।
शनिवार रातिदेखि विर्तामोडमा ‘मुक्ति स्तम्भ’ रहेन । राजमार्ग विस्तारमा खटिएका कामदारहरुले क्रेन र डोजर लगाएर ‘मुक्ति स्तम्भ’ उखेलेर हटाएका छन् । रातारात ‘मुक्ति स्तम्भ’ हटाएर त्यो स्थान खाली गराइएको छ । हटाएको दृश्य हेर्न सर्वसाधारण र पत्रकारहरुको राति अबेरसम्म घुइँचो थियो । उनीहरु ‘मुक्ति स्तम्भ’ उभिएको अन्तिम दर्शक बनिरहेका थिए ।
‘मुक्ति स्तम्भ’ भत्किएपछि मुक्तिचोकको नामाकरण गर्नुहुने वरिष्ठ अधिवक्ता लीला उदासी भावुक हुनुभयो । उहाँले विहानै फेसबुकमा लेख्नुभयो–
“राती नै ढालिए छ
मुक्ति चोकको स्तम्भ
झिसमिसेमै उठेर
मुक्ति चोक गएँ
वरिपरि घुमेँ
अब कता स्तम्भ ?
कता मुक्ति ? कता चोक ?
भावुक भएँ ।”
साहित्कार कृष्ण धराबासी पनि सामाजिक सञ्जालमा दुःखी हुनुभयो । उहाँले लेख्नुभयो– “सालिक भत्किए पनि जनजिब्रोमा स्थायी रुपमा बसेको यो नाम सजिलै नमेटिएला ।”
स्तम्भ ढलेकोमा सामाजिक सञ्जालमा आफ्नो धारणाहरु भावुक रुपमा पोख्नेहरुको लर्को लागेको छ । धेरैले अब सालिकलाई अन्यत्र कतै राम्रो स्थानमा पुनःस्थापित गर्नु पर्ने सुझाव दिएका छन् । हटाइएको सालिकलाई बुधवारे हटियाको खाली जग्गामा राखेर उद्यान बनाउनु पर्ने पनि धारणा आइरहेका छन् ।
स्रोतका अनुसार हटाइएको सालिकको अवशेष विर्तामोड नगरपालिकालाई बुझाइएको छ । सालिकमा केही चोट लागको भए तापनि टुटेफुटेको छैन ।