२९ वैशाख २०८३, मङ्गलवार

व्यवसाय दर्ता गराउन बजारमै पुग्यो नगरपालिका

२९ वैशाख २०८३, मङ्गलवार
Image


मेचीनगर, २९ वैशाख । काँकरभिट्टाका २६ जना व्यवसायीले सोमवार एकैदिन नगरपालिकाले सञ्चालन गरेको दर्ता शिविरमार्फत आफ्नो व्यवसाय दर्ता तथा नवीकरण गरेका छन् ।

मेचीनगर नगरपालिकाले सोमवारदेखि व्यवसाय दर्ता सम्बन्धी दुई महिने दर्ता शिविर (अभियान) काँकरभिट्टाबाट सुरू गरेको थियो ।

पहिलो दर्ता शिविर काँकरभिट्टास्थित सब्जी बजारमा राखिएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले स्थानीय तहमा दर्ता गराएर मात्र व्यवसाय गर्न नगरबासीलाई आह्वान गर्नु भएको थियो । 

नगरपालिकाका राजश्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले नगरमा हाल १८ हजार करदाता रहेको जनाउँदै ४८ प्रतिशत व्यवसायीले दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिनु भएको छ । 

शुभारम्भ कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरु सीमा रसाइली, भविन्द्र सुब्बा, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) लगायतको उपस्थिति रहेको थियो ।

पहिलो दिन २० जना नयाँ व्यवसायीले दर्ता गरेको र पुराना ६ जना व्यवसायीले नवीकरण गरेको पराजुलीले बताउनुभयो ।

यो अभियानलाई असार मसान्तसम्म नगरको काँकरभिट्टा, इटाभट्टा, धुलाबारी, बाहुनडाँगी, चारआली लगायतका क्षेत्रमा पुर्याइने उहाँले जानकारी दिनुभएको छ ।