झापा, १० असार । मानवसेवा आश्रम झापा शाखाले असहायहरुको उद्धार र उपचार सुविधाका लागि दाताहरुको सहयोग जुटाएर एउटा सवारी साधन खरिद गरेको छ ।
मेचीनगर नगरपालिका वडा नं. ४ बाहुनडाँगीमा सञ्चालित आश्रमको झापा शाखामा हाल १०३ जना वृद्धवृद्धासहित असहायहरुले आश्रय प्राप्त गरिरहनु भएको छ ।
सडक मानव र सहयोगापेक्षीहरुलाई उद्धार गरी आश्रममा ल्याउन र आश्रममा रहेकाहरुलाई उपचारका लागि अस्पताल ओहोरदोहोर गर्न आफ्नै सवारी साधनले सहज हुने आश्रमको झापा शाखा संयोजक खगेन्द्र विश्वकर्माले बताउनुभयो ।
उहाँका अनुसार रु. ३५ लाखमा खरिद गरिएको सवारी साधन बोलेरो जिप रहेको छ । यसको खरिदका लागि दाताहरुबाट रु. १६ लाख ३७ हजार ५५० प्राप्त भएको र अपुग रकम आश्रमको अन्य योगदानबाट व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि आश्रमले उद्धार एवम् उपचारका लागि एम्बुलेन्स र अन्य सवारी साधन भाडामा लिने गरेको थियो ।
आश्रम स्थापनाका लागि स्थानीय रामबहादुर प्रधान र लक्ष्मी प्रधानले रु. चार करोड मूल्यको आफ्नै सम्पूर्ण दुई बिगाहा १० कठ्ठा जग्गा दान गर्नु भएको थियो । आश्रमको निर्माणमा रु. एक करोड खर्च भएको छ ।
आश्रममा हाल ९० जना अट्ने क्षमताको आवास, भान्सा, शौचालय र आवश्यक पूर्वाधार रहेको छ । आश्रममा आश्रितहरुको संख्या दिनानुदिन बढिरहेको कारण आश्रमको श्रमतालाई विस्तार गरेर १२० जना पुर्याउन हाल थप पूर्वाधार निर्माणको कार्य भइरहेको उहाँले बताउनुभयो ।