१० असार २०८३, बुधवार

बाहुनडाँगीबासीले प्रधानमन्त्रीलाई भने- ''हामीलाई हात्तीबाट बचाउ''

१० असार २०८३, बुधवार
Image

झापा, १० असार । जंगली हात्तीको दिनहुँ आक्रमणबाट प्रभावित मेचीनगर नगरपालिकाको वडा नं. १, २, ३ र ४ स्थित बाहुनडाँगी क्षेत्रका बासिन्दाले जीवन रक्षा लगायतको माग राख्दै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आज सामूहिक हस्ताक्षरसहितको ज्ञापन पत्र पठाएका छन् ।

प्रधानमन्त्री शाहलाई पठाइएको चार बुँदे उक्त ज्ञापन पत्र बाहुनडाँगीका बासिन्दाको तर्फबाट सन्तोष सुबेदीको सर्वपक्षीय नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई जिल्ला प्रशासन कार्यालयमा भेटेर हस्तान्तरण गरेको हो ।

उक्त ज्ञापन पत्रमा चार वटा वडाका १२ हजार बासिन्दाको हस्ताक्षर संकलन गरिएको छ । ज्ञापन पत्रमा भारतबाट दिनहुँ भित्रिने जंगली हात्तीको प्रवेशलाई बिनाशर्त रोक्नु पर्ने, मानव वस्तीमा प्रवेश गर्ने जंगली हात्तीलाई उसको बासस्थानतर्फ फर्काउन रबरको गोली प्रयोग गरिने पर्ने, मेची किनारदेखि कोशी टप्पुसम्मको प्रस्तावित हात्ती करिडर परियोजना खारेज गरिनु पर्ने र हात्तीको आतंकलाई जोडेर पर्यटन प्रवर्धनको कुनै पनि गतिविधि बन्द गरिनु पर्ने माग गरिएको छ ।

चार बुँदे मागप्रति राज्य उदासिन भएमा स्थानीय हात्ती प्रभावितहरु आन्दोलनमा उत्रिने बाध्य हुनुपर्ने स्थानीयबासीको नेतृत्व गरिरहेका युवा सन्तोष सुबेदीले बताउनुभयो । बिगत एक सातादेखि बाहुनडाँगी क्षेत्रमा हात्ती नियन्त्रणको माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएपछि नियन्त्रणका लागि प्रधानमन्त्री शाहको ध्यानाकृष्ट गराउन ज्ञापन पत्र बुझाइएको बताउनुभयो ।

साविक बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष निलकण्ठ तिवारी भारतबाट दिनहुँ निर्वाध प्रवेश गर्ने जंगली हात्तीको बथानलाई सीमाबाटै फर्काउने उपाय नखोजेसम्म मानवीय र बालीको क्षति नरोकिने बताउनुहुन्छ । 

ज्ञापन पत्र बुझाउने टोलीमा बाहुनडाँगीका हात्तीबाट प्रभावितका परिवारका व्यक्तिहरु, अग्रज सनतकुमार अधिकारी, दलका नेताहरु, ज्येष्ट नागरिकहरु, सामाजिक कार्यकर्ताहरु, विद्यार्थी र पत्रकारहरु हुनुहुन्थ्यो ।

मागपत्र प्रमुख जिल्ला अधिकारी गेलाललाई हस्तान्तरण गर्दै गर्दा हात्तीपीडित एक वृद्धले भन्नुभयो– “हामी त आज कि भोलिको भइसक्यौं । हाम्रा छोराछोरी चाहिँ हात्तीबाट जोगाइदेउ सरकार ।” एक बालकले पनि प्रजिअलाई विद्यार्थीको बाँच्न र पढ्न पाउने अधिकारको रक्षा गरिदिन आग्रह गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्थानीयबासीले बुझाएको माग पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गर्दै जनधनको सुरक्षा र हात्ती नियन्त्रणका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउनुभयो ।

सीमा पार गरेर बाहुनडाँगी क्षेत्रमा एक महिनादेखि दिनहुँ ठूलो बथानमा जंगली हात्तीहरु भारतबाट नेपाल आउने गरेका छन् । एक साता अघि मेचीनगर–४ मा आँगनमा फूल टिपिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको थियो । बाहुनडाँगी क्षेत्रमा एक सातामा सयौं बिगाहा क्षेत्रफलमा लगाइएको सुपारी, मकै, चिया लगायतका बाली हात्तीले नष्ट गर्दा किसानहरु आक्रोशित छन् ।