भोटेकोशी बाढी
भोटेकोशी बाढी
झापा, २९ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनु भएको १९ औं दिनमा विर्तामोड नगरपालिका–३ का ५२ वर्षीय राजन आचार्यको आइतवार कुशको शब बनाएर दाहसंस्कार गरिएको छ ।
उहाँ रसुवाको स्याफ्रुबेसीस्थित लाङटाङ हाइड्रोपावर कम्पनीमा कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको ४८ वर्षीया पत्नी तारा आचार्य र २३ वर्षीया छोरी प्रज्ञा आचार्य छन् । उहाँका वुवा शान्तिराम आचार्य ७९ वर्ष र आमा रोहिणीदेवी आचार्य ७९ वर्षको वृद्धावस्थामा हुनुहुन्छ ।
कनकाई नदीस्थित आर्यघाटमा आइतवार विहान कुशको शब बनाएर दाहसंस्कार गरिएको थियो । शवयात्रा र दाहसंस्कारमा ठूलो संख्यामा उपस्थिति थियो ।
“कहिँ कतै सुरुङभित्र आपत अवस्थामा अझै जीवितै छ कि भन्ने आशा मरेको छैन,” राजनकी फुपू भावना आचार्यले भन्नुभयो– “न सास न लाशको अवस्था भयो । कुशको शब बनाएर दाहसंस्कार गरियो । सम्पर्कविहीन भएका क्षणदेखि परिवारका आँखामा आँशु थामिएका छैनन् ।”
तीन महिना अघि मात्र राजनले उक्त हाइड्रोपावर कम्पनीमा काम गर्न थाल्नु भएको हो । बाढी आउनुभन्दा एक साता अघि घर आएर परिवारसँग भेटघाट गर्नु भएको उहाँ झापाबाट कार्यक्षेत्रमा फर्किएको पाँच दिनमै भोटेकोशीको बाढीले सम्पर्कविहीन हुनुभएको थियो ।
मेचीनगर नगरपालिका–६ काँकडभिट्टाका दिपक खरेल लगायत झापाका नौ जना अझै भोटेकोशी बाढीमा परी वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।