४ कार्तिक २०८३, मङ्गलवार

‘क्यान्सरले खुट्टा गुमाएको’ अनिसको परिवारलाई दशैंमा नयाँ घर

४ कार्तिक २०८३, मङ्गलवार
Image

मेचीनगर, ३ कात्तिक । मेचीनगर–५ घोडाजिनका अनिस राईको विपन्न परिवारले जनसहयोगमा निर्मित नयाँ घर पाएको छ ।

चिया बगानमा मजदुरी गर्दै परिवारको पेटपालन गर्दै आउनु भएको अनिसकी पत्नी विष्णुमाया राईको क्यान्सर संक्रमणका कारण एउटा खुट्टा काटेर फाल्नु परेको छ भने वृद्धावस्थाकी आमा प्यारालाइसिसको विरामी हुनुहुन्छ ।

मेची अभियानको संयोजनमा दाताहरुको सहयोगमा नवनिर्मित नयाँ घरमा अनिसको परिवार सोमवार महाअष्टमीको साइत पारे गृह प्रवेश गरेको हो ।

अनिसका छोरा शुभम राईले रिबन काटेर गृह प्रवेश कार्यक्रम सुरु भएको थियो । भवन निर्माण समितिका अध्यक्ष पर्शुराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य एवम् मेचीनगरका संस्थापक मेयर रविन कोइराला हुनुहुन्थ्यो ।

नयाँ घर बनाउन देश र विदेशबाट आर्थिक सहयोग जुटेको थियो । निर्माण समितिका अध्यक्ष पराजुलीका अनुसार घर निर्माणमा लगभग रु. एक लाख ५० हजार खर्च भइसकेको छ । 

नयाँ घरको पर्खाल सिमेन्टले बनेको छ भने छानो जस्ता पाताको छ । झ्यालहरुमा सिसा र फलामे रडको प्रयोग भएको छ । भान्सा र शौचालय निर्माणाधीन अवस्थामा छ ।

अनिस राईको परिवार यसअघि पानी चुहिने झुपडीमा बस्दै आएको थियो । पत्नी विष्णुमाया बिरामी भएपछि अनिसले चिया बगानको ज्यालादारी काम छाडेर उपचारमा लाग्नु परेको छ ।

संविधानसभा सदस्य कोइरालाले विपन्न र संकटमा परेको अनिसको परिवारलाई आवास, खाद्यान्न र उपचार सहयोग जुटाउने कार्यको उचित संयोजन गरेकोमा मेची अभियान र अभियानमा जुटेका सबैको प्रशंसा गर्नु भएको थियो ।

उक्त अवसरमा मेची अभियानका संयोजक बिजय डालमियाले अनिसको परिवारका लागि घर र विष्णुमायाका लागि उपचारको बन्दोबस्त मिलाइएको उल्लेख गर्दै मेची अभियानको सामाजिक गतिविधि बारेमा चर्चा गर्नु भएको थियो ।

सो अवसरमा मेचीनगर–५ का वडाध्यक्ष कनक कार्की, नेपाली कांग्रेस मेचीनगरका सभापति योगेन्द्र थापा लगायतले अनिसको परिवारलाई सहयोग पुर्याउँदाका अनुभूतिहरु सुनाउनु भएको थियो ।