नियमित किस्ता बुझाउनुपर्ने थियो । पथरी शनिश्चरे नपा वडा नं. २, बुद्धचौकस्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड पसेँ । अफिस खुल्नासाथ पसेको पहिलो व्यक्ति भएर होला खासै चहलपहल थिएन । व्यवस्थापक भाइ गणेशकुमार राईले देख्नुभयो र चियाका लागि कार्यकक्षमा आमन्त्रण गर्नुभयो । जेठो दाजु नरेन्द्रकुमार राईदेखि नै राजनीतिक आस्था, अभिमत र संगठनात्मक क्रियाशीलताका हिसावले हामी एउटै ब्याडमा हुर्किएका, बढेका र सँगैसँगैजसो पढेबढेका पनि । जम्काभेटलगत्तै गफगाफ नै राजनीतिक घटनाक्रमबाट आरम्भ भयो । मैले सहकारी क्षेत्रमा भाइ गणेशकुमार राईको निकै राम्रो अध्ययन छ, अनुभव छ र दखल छ भन्ने बुझेको थिएँ । यो भेटघाट, चिया गफ र बसाइँलाई क्षेत्रगत रुचिका आधारमा प्रयोग गर्ने मन बनाएँ । उमेरले भाइ तर ज्ञानको उत्कर्ष र प्रयोगका हिसावले निकै परिपक्व गणेशसँग अलिबेर बसेर भलाकुसारी गरेँ । उहाँले पनि निकै चासोपूर्वक लिनुभयो, मलाई पनि असाधारण चाख लाग्यो ।
आफ्ना लालाबालाको लालनपालन र शिक्षादिक्षा, घरपरिवारका सदस्यको स्वास्थ्य उपचारको गर्जो टार्न चर्को ब्याज दरमा साहु काड्दै, साहुले नपत्याए स्थानीय सहकारीबाट ऋण लिँदै आज पनि १९ देखि २३ प्रतिशत युवातन्नेरी पुस्ता वैदेशिक रोजगारीका लागि देशबाहिर छ । खेतबारी बाँझा रहेकै कारण डरमर्दो जंगल बनेको छ । पारिवारिक संरचना टुक्रिएको छ । बृद्धावस्थाका बुबा–आमा बेसाहारा बन्नुभएको छ । दैनिक खान चाहिने सामग्रीसमेत देशबाहिरबाट ल्याउनुपरेको छ । व्यापार घाटाको दर बढ्दो छ । निश्चित व्यक्ति मोटाएको देशमा नागरिक धनी र राज्य कमजोर हुने आधार फराकिलो ढंगले बिस्तार हुँदैछ । करोडौँमा कारोबार र चलखेल गर्ने तपाई संलग्न सहकारी संस्थाले सामुहिक पूंजी निर्माण गर्दै आयआर्जनमूलक केही काम गर्न सकिँदैन ? लक्षित समुदायको लक्षित व्यक्तिलाई स्थानीय रोजगारसँग जोड्न सकिँदैन ? स्थानीय श्रमबजारमा उपलब्ध मानिसको श्रम र सीपलाई तत्काल रोजगारसँग जोड्दै प्रत्येकलाई सम्पत्तिको मालिक बनाउन सकिँदैन ? जिज्ञासा राखेँ, प्रश्न गरेँ । गगन भर्न आकाशतिर हिडेको चंगासरि उहाँले मलाई दृष्टान्त पस्कनुभयो, सरसर्ती जवाफ दिनुभयो र चित्तबुझाउनुभयो ।
सहकारीसम्बन्धी राम्रोसँग अध्ययन गर्नुभएका व्यवस्थापक राई पछिल्लो समय सहकारीप्रति छर्न खोजिएको भ्रमबारे खुल्ला कितावको पाना झैँ छर्लङ्ग हुनुहुन्छ । उहाँका अनुसार समाजवादउन्मुख यो राज्यको तीन खम्बे अर्थनीति छ– सरकारी, सहकारी र निजी । अनुगमन र नियमन अभावले परस्पर सन्तुलनमा बाँचेको सम्बन्ध विकासको पक्ष फितलो छ । जसलाई जे लाग्छ, त्यो गरे हुन्छ भन्ने स्थिति विकास भएको छ । यद्यपि, यो दिगो र फलदायी पक्ष भने किमार्थ होइन । सहकारी एकल र बहुउद्देश्यमा आधारित हुन्छन् । कृषि सहकारी, उपभोक्ता सहकारी, चिया सहकारी, दुग्ध उत्पादक सहकारी आदि एकल उद्देश्यमा आधारित सहकारी हुन् । एकलले एउटा मात्र निर्दिष्ट उद्देश्यमा आधारित काम गर्छ र बहुउद्देश्यले यसभित्र अटेका आफ्ना विभिन्न उद्देश्यमा आधारित भएर काम गर्छ । लक्षित समुदायको लक्षित मानिस मात्र सेयर सदस्य हुने व्यवस्था रहेको सहकारी अभियानअन्तर्गत अहिले ७० प्रतिशत अनिवार्य लगानी र ३० प्रतिशत बचत तथा ऋणको काम गर भन्ने छ तर अपवादबाहेक अधिकांश सहकारीमा भएको छ यसको ठीक उल्टो । परस्परमा उद्देश्य, आवश्यकता र कार्यक्षमताको पक्ष मिले संगठित पूंजी निर्माणमार्फत उद्योग र औद्योगिकतामा पनि पूंजी परिचालन गर्न सकिन्छ । लक्षित समुदायमाझ रोजगारी सिर्जनाका लागि हुनुपर्ने यहि हो तर भइरहेको छैन ।
पछिल्लो बेला निर्धारित कार्यक्षेत्रभन्दा बाहिर टाढा–टाढासम्म पनि धेरै ठाउँमा सहकारी सञ्चालनमा ल्याउन दिनु, समाजको लक्षित समुदायसम्म पुगेर गर्ने सेवाभन्दा पनि व्यापारको प्रयोजनले सहकारीलाई हेरिनु, सहकारीको आन्तरिक, विषयगत र सार्वजनिक महत्त्वको लेखा तथा अभिलेखीकरणको प्रक्रियालाई फितलो बनाउनु, बचत तथा ऋणमा लगेर सहकारीलाई सीमित तुल्याउनु, खासगरिकन शहरकेन्द्रीत सहकारी संघसंस्थामा पारिवारिक सदस्य संख्याको अधिनस्थ सहकारी सञ्चालनमा ल्याउनु, लक्षित समुदायको लक्षित सेयर सदस्य धान्न र व्यहोर्न नसक्ने चर्को ब्याज वसुली गर्नु, सहकारी किनबेचदेखि लिएर परस्पर मर्ज गर्दै भौगोलिक क्षेत्रबिस्तारमा बढी लाग्नु, निर्दिष्ट योजना अभाव र बनेका योजना कार्यान्वयनको पक्ष झन कमजोर हुनु, सदस्यहरूले अपनत्वबोध नगर्नु, साधारणसभा र भेला तथा निर्णय प्रक्रियामा स्थानीय समुदायको प्रत्यक्ष चासो र सरोकार नहुनु, ठोस मूल्यांकन बिना ऋण प्रवाह गर्नु, समयमा ऋण उठ्न र उठाउन नसक्नु, समयसमयमा नियमन गर्ने निकायको अनुगमन कडा नहुनुले पनि पछिल्लो समय सहकारी प्रकरणले चर्चा पाएको सन्दर्भसँग व्यवस्थापक गणेश राईको यो अभिव्यक्ति निकै सुभबुझपूर्ण छ ।
व्यक्ति सधैँभरि आफू स्वयंमा एउटा हुन्छ । संस्थागत जिम्मेवारी लिएपछि त्यहि व्यक्ति सामुहिक हुन्छ, सामुहिक हितको अधिनस्थ हुन्छ । सामुहिकतामा भर गर्छ र विश्वास गर्छ । नेतृत्वमा रहने व्यक्तिको संस्थाप्रति अक्षुण्य लगन, इमान, निष्ठा र कार्यदक्षता देखिएन भने संस्थाले उन्नति मात्र होइन, अवन्नतिका बाटा समाएका धेरै उदाहरण प्रस्तुत गर्दै पालिकामा सञ्चालित ४१ वटा सहकारीमध्ये अहिले ३०–३१ रहेको उहाँको दावी छ । वित्तीय कारोबारको अर्को वैधानिक र प्रचलित थलो बैंक हो । बैंकमा व्यक्ति ग्राहक हुन्छ, सहकारीमा सदस्य । सदस्य स्वयंले अपनत्व लिन्छ, अपनत्वबोध गर्छ । ३ हजार ५ सय ७३ सदस्य संख्या रहेको लर्ड बुद्ध साकोसले वार्षिक ३१ करोडभन्दा बढीको कारोबार गर्छ । व्यवस्थापकका रूपमा यसको रणकौशल नेतृत्व र प्रशासन सम्हाल्दै आउनुभएका एकदमै हँसिला र फरासिला स्वभावले आकर्षित गणेशकुमार राईसँग २२ वर्षयताको गहिरो अध्ययन छ ।
आमा जीतमाया र बुबा पदमकेशर राईको कोखबाट जन्मनुभएका ३ भाइ छोरा र ७ बहिनी छोरीमाझ माइलो गणेशले मानविकी संकायतर्फ स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । ०६७ मा झापा धाइजन निवासी मुना राईसँग विवाहबन्धनमा उभिएको गणेश–मुना दम्पत्ति समाजको आँखामा उम्दा आकर्षणतासहित परिचित छ । मानविकी संकायको अध्ययन भए पनि वित्तीय कारोबारलाई यसरी चुस्तदुरुस्त राख्न सक्नु गणेशकुमार राईको व्यवस्थापकीय क्षेत्रमा आएको निखारलाई अतिरिक्त योग्यता मान्ने र मानिने गरिन्छ ।
पढेर मात्र होइन, मनग्यै परेर जान्नुभएका बडा शालीन, सुशील र मृदुभाषी भाइ गणेशकुमार राईको व्यवस्थापन कार्यकौशलताले मूलतः ग्रामीण क्षेत्रआधारित सेवाग्राहीको मन जितेको छ, कार्यसमितिले बनाएको कार्यविधिलाई कार्यान्वयनमा ल्याउन सफल हुनुभएको छ, प्रायशः डोलिने कारोबारलाई बहुसंख्यक सदस्यमाझ पुगेर सहकारीको मर्म, भावना र उद्देश्य व्यवहारमै परिपूरण गर्न सक्नुभएको छ । सहकारी ऐन ०७४ अक्षरशः पालना गर्दै आएको लर्ड बुद्ध साकोसले पूंजी संकुचनका बखत पनि ब्याज दर नबढाएको बरु चर्को ब्याज आफैंमा कालोधन हुन सक्ने पूर्वानुमानका साथ सचेत रहँदै सन्दर्भ ब्याजसम्म पनि पुग्न नदिने प्रयास गरिएको विषयलाई उहाँको अर्को विशेष योग्यताका साथ लिइने गरिन्छ ।
सहकारी सञ्चालनका सन्दर्भमा समाज समान हैसियत र उद्देश्य भएका सेयर सदस्यको आपसी सहयोग र समन्वयमा आत्मनिर्भरउन्मुख अर्थतन्त्रको जग बसाल्न र यसबाट व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रमा आवश्यकताहरूको परिपूर्ति गर्न थालिएको संरचनागत पक्ष नै सहकारी भएकोले बैंकलगायत वित्तीय क्षेत्रमा पुग्ने पहुँच नभएकालाई प्राथामिकता राखिने उहाँको तर्क छ । यो आर्थिक तथा सामाजिक विकासको प्रक्रियामा सदस्य स्वयंको साझेदारी पनि हो र कारोबार आफू संलग्न भएकै कारण पारदर्शिता पनि हो रणकौशल व्यवस्थापक राई थप्नुहुन्छ ।
सहकारी अभियानप्रति सकारात्मक हुने र लक्षित समुदायबाट प्राप्त सुधारात्मक अपेक्षालाई सँगसँगै लिएर जानुको विकल्प छैन । सहकारीको दीर्घकालीन स्थायित्व र विकासका लागि समुदाय स्वयंमा सचेत र जागरुक हुनुपर्छ । सहकारीले समाजको आड र भरोसालाई जित्नुपर्छ । संघीय सरकारको अधीनमा रहेको सहकारी विभाग, प्रदेश सरकारको रजिष्ट्रेसन कार्यालय र पालिकाले समयसमयमा समुदाय र सहकारी अर्थात् सहकारी र समुदायबीचको सहकार्यको जाँचपरिक्षण, पुरस्कार, सान्तवा र आवश्यक पर्दा दण्डसजायको व्यवस्था गरिदिने हो भने स्थानीय जनअपेक्षाअनुरुप समृद्धि प्राप्तिको सहयात्री सहकारी बन्न सक्छ र बन्छ व्यवस्थापक राई सारलाई यसरी पोख्नुहुन्छ ।
२२ वर्षयताको यो अविश्रान्त अभियानअन्तर्गत तपाई पूर्णतः सफल हुनुहोस्– धेरै–धेरै शुभकामना !