झापा, ७ मङ्सिर । मेचीनगर नगरपालिका-१५ हेल्दुवारीस्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खडकाले जानकारी दिनुभयो ।
शनिवार साँझ भद्रपुरबाट इटाभट्टातर्फ जादै गरेको प्र.१.०१.०१३ प. ३३३६ न।को मोटरसाइकलले सडकको साईडमा रोकेर राखेको प्र.१.०१.००१ त. ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए ।
टाउको र शरिरको बिभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विर्तामोड स्थित विएण्डसी अस्पताल लागिएको थियो । उपचारकै क्रममा राउतको मृत्यु भएको उहाँले बताउनुभयो । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी गौरीगञ्ज गाउँपालिका -१ कुञ्जिबारी बजारमा बीउविजनको व्यापार गर्न आउनु भएको शिवसताक्षी नगरपालिका -५ का ७२ वर्षीय सम्पतलाल राजबंशीको शनिवार मृत्यु भएको छ ।
दिउँसो अचानक चक्कर लागि बेहोश भएपछि उहाँलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएको थियो । उपचारको क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खडकाले जानकारी दिनुभयो ।