१० मंसिर २०८२, मङ्गलवार

लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, धुलाबारीमा प्रभातफेरि

१० मंसिर २०८२, मङ्गलवार
Image

धुलाबारी, ९ मङ्सिर । “प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ आजबाट ३४ औं लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका कार्यालय, स्थानीय संघसंस्थाहरुको संयुक्त आयोजनामा धुलाबारी चोकबाट दक्षिण खयरडाँगी हुँदै प्रभातफेरि कार्यक्रम गरिएको छ ।

प्रभातफेरि कार्यक्रममा नगरप्रमुख गोपालचन्द बुढाथोकी, उपप्रमुख मिना उप्रेती, कार्यकारी प्रमुख अग्निप्रसाद अधिकारी, पुरुष सञ्जालका अध्यक्ष मोहन काजीलगायत जनप्रतिनिधि, विद्यार्थी, संघसंस्थाको प्रतिनिधिहरु, शिक्षक, राजनीतिक दल, कर्मचारी र प्रहरीहरु सहभागी भएका थिए ।


र्यालीमा “हिंसा मुक्त घर, सरक्षित समाज, मनौता ताडौं लैंङ्गिक हिंसा विरुद्ध बोलौं, लैंङ्गिक हिंसा अन्त्य गर्नु प्रत्येक नागरिकको दायित्व हो” जस्ता दर्जनौं नारासहितको प्ले कार्ड बोकिएको थियो ।

र्यालीपछि भएको कोणसभालाई नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, पुरुष सञ्जालका अध्यक्ष काजी, रमेश गुरुङलगायतले सम्बोधन गर्दै सबै प्रकारका हिंसा अन्त्य गरी समतामूलक समाज निर्माण गर्नु आजको दायित्व भएको बताउनुभयो  ।

कोणसभाको सञ्चालन नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् । 

१६ दिने लैङ्गिक हिंसा विरूद्वको अभियान अन्तरगत मंसिर १० गते कक्षा १२ का विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धि प्रशिक्षण, १९ गते गते सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई युवा पुस्ता विषयक वक्तृत्वकला प्रतियोगिता, १४ गते मुस्लिम र दनुवार समुदायको महिलाहरूलाई लैङ्गिक हिंसा सम्बन्धि प्रशिक्षण, 

यस्तै १५ गते कलेजका विद्यार्थीलाई लैङ्गिक हिंसा तथा एड्स सम्बन्धि सचेतना, १७ गते विश्व अपाङ्गता दिवसको अवसरमा १५ वटै वडाको मिलीजुली समूहलाई विभिन्न खेलकुद प्रतियोगितात्मक गतिविधि सञ्चालन गरिने, २२ गते मर्यादित महिनावारी दिवसका दिन वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूसँग अन्तरक्रिया र १० वटा सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षकसँग छलफल कार्यक्रम गरिने शाखाले जनाएको छ ।