२३ असार २०८२, सोमवार

सदस्यको उपचार खर्च तिरिदिने सहकारी

२३ असार २०८२, सोमवार
Image

झापा, २३ असार । बिगत दश वर्षदेखि झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा जस्तै नयाँ अवधारणाबाट सदस्यहरुको उपचारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।

सदस्य बिरामी हुँदा उपचारमा कठिनाई नहोस् भनेर संस्थाले २०७२ सालमा ‘जीवन बरदान’ कार्यक्रम लागू गरेको थियो । सहकारीका सदस्यले वार्षिक रु. तीन हजार ४७५ शुल्क बुझाएर ‘जीवन बरदान’ को सदस्य बन्न पाउने व्यवस्था छ ।

त्यसरी सदस्य बनेकाहरुले बिरामी हुँदा संस्थाले तोकेका अस्पतालबाट उपचार सेवा लिन पाउँछन् । धेरै खर्च हुने गम्भीर रोग लागेको, दुर्घटना भएर आकस्मिक उपचार गराउनु परेको र शल्यक्रिया गरिने अवस्थामा सहाराले शल्यक्रिया र औषधिको ९० प्रतिशतसम्म उपचार खर्च व्यहोर्ने भएकाले सदस्यहरु ‘जीवन बरदान’ कार्यक्रमबाट लाभान्वित हुने गरेका छन् ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपनिर्देशक दिनेश बहादुर निरौलाका अनुसार एक दशकमा ‘जीवन बरदान’ मार्फत १७ हजार ७३७ जना सदस्यले रु. ४१ करोड ९७ लाख बराबरको उपचार सेवा प्राप्त गरिसकेका छन् ।

चालू आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४०० भन्दा बढी सदस्यले लगभग रु. सात करोड बराबरको स्वास्थ्योपचार सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो । पछिल्लो महिनामा सेवा लिएका कतिपयको बिल भर्पाइ संकलन भइरहेको हुँदा यकिन हिसाब आउन बाँकी रहेको बताइएको छ ।

संस्थाले उपचारका लागि राजधानी काठमाडौंका अति सुविधासम्पन्न अस्पतालदेखि मोफसलका ५० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको जनाएको छ । बिरामीले आफै अस्पताल रोजेर उपचार गराउन पाउने संस्थाले सदस्यलाई सुविधा दिएको छ ।

“गम्भीर विरामी भएमा वा शल्यक्रिया गराउनु परेमा सदस्यले आफैले चाहेको अस्पतालमा उपचार गराउन सक्नु हुन्छ,” सेवा लिने प्रक्रिया बारे जानकारी दिदै उहाँ भन्नुहुन्छ–“अस्पताललाई जीवन बरदान कार्ड देखाएर सहारा नेपाललाई भर्ना भएको जानकारी गराए पुग्छ । अस्पतालले कुनै धरौटी नलिइकन सबै उपचार खुरुखुरु गरिदिन्छ ।”

संस्थाले शल्यक्रिया गराउँदा लागेको शुल्कको ९० प्रतिशत र उपचारमा लागेको खर्चको ८० प्रतिशत रकम अस्पताललाई भुक्तानी दिने गरेको छ । अस्पतालमा भर्ना भएको दिनदेखि डिस्चार्ज भएसम्मको अधिकांश खर्च संस्थाले नै व्यहोर्ने भएकाले सहकारीका सदस्यले स्वास्थ्योपचारमा ठूलो राहत अनुभूति गर्दै आएका छन् ।

अस्पतालबाट डिस्चार्ज भइसकेपछि घरमा बसेका बेला समेत शल्यक्रिया गराएका बिरामीलाई संस्थाले नर्स पठाएर घरदैलो ‘होम केयर’ सेवा पुर्याउने गरेको छ । घाउको टाँका निकाल्ने, ड्रेसिङ गर्ने र अति आवश्यक अवस्थामा शैयासहितको सेवा संस्थाले ‘होम केयर’ कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको छ ।

मुटु मृगौला, सुगर, प्रेसर, थाइराइड, दम, छारेरोग लगायत दश वटा दीर्घकालीन रोग लागेका सदस्यलाई औषधि खर्चको ५० प्रतिशतसम्म व्यहोर्दै आएको संस्थाले जनाएको छ ।

कनकाई नगरपालिका वडा नं. ३ का चन्द्रप्रसाद रिजालले गत चैतमा टाउकाको शल्यक्रिया गराउँदा सहाराको ‘जीवन बरदान’ कार्यक्रमबाट रु. दुई लाख ५० हजार बराबरको उपचार विर्तामोडको बीएन्डसी हस्पिटलबाट पाएको बताउनुभयो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको जीवन बरदान कार्यक्रमको सदस्य रहनु भएको बिर्तामोड नगरपालिका वडा नं. २ का ढुण्डीराज मिश्रको एक वर्ष अघि काठमाडौंको मेडिसिटी अस्प्तालमा ट्यूमरको शल्यक्रिया गराउँदा रु. पाँच लाख खर्च भएको थियो । तर, सहाराको ‘जीवन बरदान’ले रु. चार लाख खर्च व्यहोरिदिदा आफुले उपचार खर्च कसरी जुटाउने भन्ने तनाव खेप्नु नपरेको अनुभूति सुनाउनु भयो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा हाल एक लाख ९१ हजार ७२१ जना सदस्य रहेका छन् भने रु. एक अर्ब ६९ करोड ८६ लाख ५९ हजार ४०० शेयर पूँजी रहेको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर गरी छ जिल्लामा ८१ वटा सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।