६ साउन २०८२, सोमवार

रोचक संसार

आउनुहोस्, ‘जुम्ल्याहा भवन’को आकाशे जंगल हेरौं

५ साउन २०८२, आइतवार
Image

झापा, ४ साउन । आधुनिक सहर भन्ने बित्तिकै ठूला ठूला सिमेन्टका भवन भएको ‘क्रंक्रिटको जंगल’ याद आउँछ । कालोपत्रे गरिएका चिल्ला सडकको जालो । नाक पोल्ने गरी धुँवा फ्याक्ने सवारी साधनहरुको ताँती । मास्कले नथेग्ने निस्सासिदो प्रदूषित वायुमण्डल । जथाभावी विसर्जन गरिएका फोहोरको डंगुर । 

संसारभरि सहरको औसत हालत माथि भनिए जस्तै छ । तर, इटालीको मिलानस्थित पोर्ट नोवा भन्ने सहरको अद्भूत जुम्ल्याहा भवन (ट्वीन टावर) तर्फ तपाईहरुको ध्यान आकृष्ट गर्दछु । जसलाई ‘आकाशे जंगल’ भनेर पनि चिनिन्छ । जसले तपाईलाई ‘यस्तो पनि हुँदोरहेछ सहर’ भन्न बाध्य तुल्याउनेछ । 

‘भर्टिकल फरेस्ट’ नाम दिइएको यो जुम्ल्याहा भवनमा एक सयभन्दा बढी प्रजातिका ८०० भन्दा बढी रुख र ५००० भन्दा बढी झार अकल्पनीय रुपमा हुर्किएका छन् ।

दाजु टावरको उचाई ११० मिटर र भाइ टावरको उचाई ७६ मिटर रहेको छ । हेर्दै मनमोहन र सुन्दर यी गगनचुम्बी भवनमा रुख र झारहरुको जंगलले वातावरण सन्तुलन र हरियाली ल्याउन मदत पुर्याएको छ । 

वायुमण्डलमा रहेको धुलो नियन्त्रण, कार्वन डाइअक्साइड न्यूनीकरण र अक्सिजन वृद्धिका लागि यी जुम्ल्याहा टावरले ठूलो योगदान पुर्याएका छन् । सूर्यको किरण सोझै भवनमा पर्नबाट जोगाएका छन् । 

कसरी गगनचुम्बी भवनहरुलाई प्राकृतिक रुपमा पर्यावरणीय दृष्टिले अनुकूलन गर्ने भन्ने सोच राखेर वास्तुविद्हरु स्टेफेनो बोरी, जिनान्द्रे बेरेका र जिओभानी ला भारा नामका तीन व्यक्तिले सन् २०१४ मा यो आकाशे जंगलको डिजाइन गर्नु भएको थियो । 

यो विश्वको पहिलो भर्टिकल फरेस्ट परियोजना हो । अहिले यसकै अनुकरण गरेर विश्वका अन्य स्थानमा आकाशे जंगलहरु बनाउन थालिएको छ । 

पर्यावरणमैत्री विश्वको पहिलो आकाशे जंगल भएकाले यहाँ हेर्नकै लागि वर्षेनी हजारौं पर्यटक पुग्ने गर्छन् । मिलान सहरको मिलानो सेन्ट्रलबाट १५ मिनेटमा यी भवन भएको स्थानमा पुग्न सकिन्छ । निजी भवन भएकाले भित्र पस्न निषेध गरिएको छ । बाहिर नजिकै गएर हेर्न पाइन्छ भने नजिकका रेस्टुरेन्ट, आर्ट ग्यालरी, क्याफे र पार्कमा टहलिन पाइन्छ ।

हरियाली, वास्तुकला र वातावरणको उत्कृष्ट संयोजन रहेको यी भवनमा असंख्य चराचुरुंगीले बासस्थान बनाएका छन् । कतिपय तलाको रुखमुनि पोखरी बनाइएका छन्, जहाँ आकाशमा तैरिएका छौ भन्ने भेउ नपाएका माछाहरु प्राकृतिक वातावरण पाएर मख्ख छन् ।

यदि इटालीको भ्रमण गर्दै हुनुहन्छ भने मिलान सहर जान नभुल्नुहोस् । मिलान पुगेपछि जुम्ल्याहा भवन हेर्न नबिर्सनुहोस् । यी भवन नजिकै इटालीकै सबैभन्दा अग्लो अर्को गगनचुम्बी भवन ‘युनिक्रेडिट टावर’ पनि छ । यो टावर २३१ मिटर अग्लो छ । आकाशे जंगल भएको जुम्ल्याहा भवनबाट ७ मिनेटमा हिँडेरै पुग्न सकिन्छ । 




(स्रोत : इन्टरनेट)